झापा । सीमा नाकाबाट कोरोना भाइरसको तेस्रो लहर फैलिने जोखिम बढेको छ । भारतको बंगाल तथा विहार राज्यसँग जोडिएका सीमा नाकामा भने कुनै सतर्कता अपनाइएको छैन ।
पुर्वी नाकाहरु भद्रपुर, काँकडभिट्टा, रानीमा सतर्कता नअपनाइएको हो । सीमा नाकामा तैनाथ सशस्त्र र नेपाल प्रहरीले नाकाबाट आउजाउ गर्ने सर्वसाधारणलाई पिसिआर रिपोर्ट र डबल डोज खोप कार्डको आधारमा प्रवेश गर्न दिइरहेको छ । पहिलो लहरको कोरोनापछि भद्रपुर सीमा नाका १९ महिना बन्द गरिएको थियो। गत असोज १५ गतेदेखि भद्रपुर नाका पुनः सञ्चालनमा आएको हो ।
पछिल्लो समयमा छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएसँगै नाका उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउनु पर्ने हो। तर, यहिबेला नाकामा स्वास्थ्यकर्मी छैन। तैनाथ सुरक्षाकर्मीले बिना मास्क आवतजावतमा भने रोक लगाएको छ।
काँकडभिट्टा नाका भएर आउने सर्वसाधारणमा कोरोना संक्रमण देखा पर्न थालेको छ। बुधबार सो नाका भएर भित्रिने एक जनामा संक्रमण पुष्टि भएकोमा बिहीबार र शुक्रबार सङ्क्रमितको सङ्ख्या बढेर १३ पुगेको छ।
डबल डोज खोप कार्ड भएपछि नाकामा सहज आवतजावत भइरहेको छ। जसका कारण सीमा नजिकै भारतीय बजार पानीट्यांकीलगायतका ठाउँ पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्ने नेपालीहरूको भीड समेत बढेको छ।