खोटाङमा कोभिडविरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार ०१:०१ मा प्रकाशित

खोटाङ । खोटाङमा कोभिड–१९ विरुद्ध दैनिक खोप सेवा सञ्चालनको तयारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधबार बसेको बैठकले दिक्तेलको अस्थायी कोभिड अस्पतालमा कोभिडविरुद्ध दैनिक खोप सञ्चालनको निर्णय गरेको हो । 


कतिपय पालिकामा पठाइएका कोभिडविरुद्धका खोप फिर्ता आउन थालेपछि अस्थायी कोभिड अस्पतालबाट दैनिक खोप सेवाको व्यवस्थाका लागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले बताए । 


हालसम्म कोभिड विरुद्धका खोप लगाउन छुट भएका तथा इच्छुक नागरिकलाई लक्षित गर्दै दैनिक खोप सेवा सञ्चालनमा ल्याउन लागिएको हो । बैठकमा अस्थायी कोभिड अस्पतालबाट दैनिक कोभिड विरुद्धका खोप सेवा सञ्चालनका लागि स्वास्थ्य कार्यालयले खोप तथा खोप सामग्री उपलब्ध गराउने, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक एक जना खोप लगाइदिने स्वास्थ्यकर्मी खटाउने र जिल्ला अस्पतालले खोप सेवा सञ्चालन गर्ने हल उपलब्ध गराउने निर्णय भएको छ ।