इटहरी । इटहरी उपमहानगरपालिकाको नगरगौरवको सबैभन्दा ठूलो योजना कोल्डस्टोर सहितको आधुनिककृषि बजारको बिहिबार शिलान्यास गरिएको छ । इटहरी वडा नम्वर ९ हाटखोलामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिलान्यास गरे ।
इटहरी उपमहानगरपाकिाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार २५ करोड ६ लाख ५ हजारको लागतमा कोल्डस्टोर सहितको कृषि बजार निर्माण हुने छ । कृषि बजारमा ६ लाख केजी समाग्री एकै पटक भण्डारण गर्न सकिने कोल्डस्टोर रहने छ ।
तरकारी र फलफूलजन्य समाग्रीको विक्री कक्ष, एटिएम सहितको वैंक, प्रशासनिक भवन, आवास कक्ष, दुईवटा धर्मकाँटा, १० वटा थोक विक्री कक्ष निर्माण गरिने छ । यो वर्ष संघीय सरकारले २ करोड २९ लाख अनुदान पठाएको छ । दुई वर्षमा निर्माण सकिने कृषि बजारका लागि क्रमागत बजेट उपलब्ध हुनेछ ।
उपमहानगरपालिकाबाट ५० प्रतिशत सहभागिता रहने छ । यो वर्ष प्रदेश सरकाले १ करोड उपलब्ध गराएको छ । शिलान्यास समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरकापालिकाका प्रमुख द्धारिकलाल चौधरीले उपहानगरपालिकाका जनप्रतिनिधिको पहल र जनताले गाँसकाटेर बुझाएको करबाट इटहरीमा विकास निर्माणले गति लिएको बताए ।
उपप्रमुख लक्ष्मी गौतमले कृषि बजार इटहरीको गहनाको रुपमा रहने बताइन् । कहिं कतै वेइमानी नगरि, भ्रष्टाचार नगरि इटहरीको पूर्वाधार निर्माणमा उल्लेख्य कार्य भएको उनको भनाई छ ।