दमक । दमकमा आगामी चैतदेखि फोहरबाट ग्याँस र प्राङ्गरिक मल उत्पादन सुरु हुने भएको छ।
फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहरबाट एकैसाथ ग्याँस र प्राङ्गरिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीले जनाएको छ ।
उनका अनुसार फोहरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी प्रयोग हुने प्राङ्गरिक मलसमेत उत्पादन हुने भएको छ। कुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। फोहरबाट ऊर्जाअन्तर्गत ग्याँस, प्राङ्गरिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखा प्रमुख दोर्ण थापाले बताए।
यसका लागि दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ। याहाँबाट दैनिक एक हजार ८४ किलोग्राम वायोग्याँस उत्पादन गर्न सकिन्छ।
यस्तै दैनिक १० हजार किलोग्राम प्राङ्गरिक मल तथा करिब सात हजार ५०० लिटर झोल मल उत्पादन गर्न सकिने दमक नपाका फोहर व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए। संरचना निर्माणमा कूल रु २० करोड ५८ लाख ९७ हजार लागत रहेको छ।
दमक क्षेत्रमा दैनिकजसो २० टन फोहर उत्पादन हुने गरेको छ भने १५ टन फोहर सङ्कलन हुँदै आएको छ।