बूढी खोलामा पौडी खेल्ने क्रममा एक बालिका बेपत्ता, सशस्त्रको गोताखोर टोलीले निकाल्यो शव

न्युजलय १७ बैशाख २०७९, शनिवार ०२:४४ मा प्रकाशित

विराटनगर । सशस्त्र प्रहरीको गोताखोर टोलीले मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित बूढी खोलाबाट बालिकाको शव निकालेको छ । मजुलम मियाकी ८ वर्षीया छोरी रुसिना खातुन पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो बूढी खोलामा बेपत्ता भएकी थिइन् । बालिकाको खोजीमा सशस्त्र प्रहरी निरीक्षक दिवस न्यौपाने र सहायक निरीक्षक लेखजंग कार्कीसहितको गोताखोर टोली परिचालन गरिएको थियो । 

 

टोलीले मृत फेला पारेर बालिकाको शव खोलाबाट साँझ ६ः४५ बजेतिर बाहिर निकालेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार दिदी सुहाना खातुनसँगै पौडी खेल्न पसेका बेला रुसिना खोलामा बेपत्ता भएकी थिइन् । सुहाना भने बाहिर निस्कन सफल भएकी थिइन् । 


शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।