हतुवागढीमा अन्तर वडास्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता हुँदै

अर्जुन राई अपहेलित ८ पुस २०७८, बिहिबार ०१:४१ मा प्रकाशित

घोडेटार । भोजपुरको हतुवागढी-१ घोडेटार स्थित अन्तर वडा स्तरीय महिला/ पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । 

हतुवागढी खेलकुद विकास समितीको आयोजनामा हुन लागेको उक्त भलिबल प्रतियोगिता यहि पौष १२ गते देखि सञ्चालन गरिने भएको हो । 

घोडेटार स्थित सगरमाथा माविको प्राङ्गणमा हुन लागेको उक्त भलिबल प्रतियोगिता पौष १२ गते बिहान ७ बजे उद्घाटन गरिने आयोजकले जनाएको छ ।

प्रतियोगी खेलाडीले अग्रिम रुपमा आफ्नो टिम दर्ता गराइ सक्नु पर्ने तथा पौष ११ गतेको बेलुका टाइसिट सार्वजनिक गरिने जनाइएको छ ।

उक्त प्रतियोगितामा हतुवागढी गाउँपालिका अन्तर्गतका खेलाडीहरुले मात्रै सहभागी हुन पाउने समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिए ।

हतुवागढी-१ खेलकुद विकास समितिको सह आयोजना तथा हतुवागढी गापाको प्रायोजनमा हुन लागेको उक्त भलिबल प्रतियोगिताको पुरुष तर्फ विजेता टिमलाई  रु ५१ हजार १ सय ११ र उपविजेता टिमलाई रु ३५ हजार ५ सय ५५ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने भएको छ । 

त्यसै गरि महिला तर्फ विजेता टिमलाई रु. ३० हजार ३ सय ३३ र उपविजेता टिमलाई २० हजार २ सय २२ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने जारी सुचनामा उल्लेख छ । 

सरकारी नियमको आधारमा पुरस्कार राशी वितरण गरिने आयोजकले जनाएको छ । 

नकआउट चरणमा खेलाइने उक्त भलिबल प्रतियोगितामा एक वडाबाट दुई टिम मात्रै सहभागी हुन पाइने छ भने  खेलमा जुत्ता र जर्सी अनिवार्य हुनु पर्ने जारी सुचनामा उल्लेख छ ।

युवा पुस्तालाई खेलकुद क्षेत्रमा आकर्षित गराउँदै हतुवागढी क्षेत्रमा खेलकुदको विकास गर्ने उद्देश्यले भलिबल प्रतियोगिताको आयोजना गरिएको हतुवागढी खेलकुद विकास समितिका अध्यक्ष बालकुमार राइले बताए ।

अध्यक्ष राईले अन्तर वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न हुनासाथ अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । 

उनका अनुसार यहि पौष २५ गतेबाट हतुवागढी-१ घोडेटार स्थित अन्तर पालिका स्तरीय महिला/ पुरुष भलिबल प्रतियोगिता साञ्चालन हुनेछ ।