३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष उदयपुरबाट पक्राउ

न्युजलय ८ बैशाख २०७९, बिहिबार ०८:२५ मा प्रकाशित

काठमाण्डौ । ३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ परेका छन् । 

जीउ मास्ने बेच्ने मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।  पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णुबहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनले २०४६ भदौ १८ गते दुई जना महिलालाई भारतको मुम्बईको कोठीमा लगी बिक्री गरेको प्रहरीले जनाएको छ । 

सोही घटनामा जिल्ला प्रहरी कार्यालय पर्साबाट जीउ मास्ने बेच्ने मुद्दा दर्ता भई अनुसन्धान तथा अभियोजन पश्चात पर्सा जिल्ला अदालतले २०६१ चैत १४ गते उनलाई १० वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । 

त्यसपछि उनी फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–३ मा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  

उनलाई फैसला कार्यान्वयनको लागि  पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको छ ।