इटहरी । इटहरी फुटबल क्लबको आयोजनामा शनिबारदेखि इटहरी फुटबल रनिङ कप २०७८ सुरु भएको छ । २० वडा रहेको इटहरीका १५ वटा वडाहरुले प्रतियोगितमा सहभागिता जनाएको क्लबका अध्यक्ष श्याम मानन्धरले जानकारी दिए ।
शनिबार भएको पहिलो खेलमा वडा नम्बर ५ ले वडा नम्बर १९ लाई ५–३ गोल अन्तरले पराजित गरेको छ । खेलको पुरा समयमा दुबै टिमबाट कुनै पनि गोल हुन सकेन । त्यसपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । ट्राइबेकरमा ५ नम्बर वडाले ५–३ गोल अन्तरले वडा नम्बर १९ लाई पराजित गरेको हो । आसन्न नेपाल फुटबल संघ (एन्फा)को जिल्ला स्तरीय छनौटलाई मध्यनजर गरेर रनिङ कपको आयोजना गरिएको अध्यक्ष मानन्धरले बताए । उनले सुनसरीमा हुने एन्फाको जिल्ला स्तरीय छनौटमा इटहरी उपमहानगरपालिकाबाट दुई वटा टिम सहभागी हुने भएकाले त्यसका लागि आवश्यक खेलाडीको छनौट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए ।
शनिबारको खेलमा वडा नम्बर ५ का मनिस भण्डारी म्यान अफ दि म्याच घोषित भए । उनले विशाल अग्रवालले प्रयोजन गरेको मोबाइल फोन प्राप्त गरे । यसैबिच आइतबार दुई वटा खेल हुने आयोजकले जानकारी दिएको छ । आइतबार मध्यान्न १२ः३० बजे पहिलो खेलामा वडा नम्बर ६ र १४ बिच तथा दिउँसो २ बजे हुने दोश्रो खेलमा वडा नम्बर १० र १७ विच प्रतिस्पर्धा हुने छ ।
१५ टिम सहभागि खेल आगामी मंसिर २० गतेसम्म सञ्चालन हुने छ । खेलमा विजेताले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट दुई टिमले जिल्ला स्तरीय एन्फाको छनौट खेलमा सहभागि हुने मौका पाउने छन् ।