काठमाडौं । आज बिहिबारदेखि मुलुकभर मौसम सुधार हुने मौसमविद्ले बताएका छन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ।
बासीका अनुसार आज काठमाडौंसहित देशका अधिकांश स्थानमा घाम देखिने सम्भावना रहेको छ।
बासीका अनुसार देशमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी रहेकाले यतिबेला सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको छ।
प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
बासीका अनुसार आजभन्दा भोलि अलि बढी बदली हुने सम्भावना रहेको छ।