बुधबार एमसीसी पास गर्ने तयारी : प्रचण्ड र माधव नजाने, सांसदलाई नरोक्ने

न्युजलय २ फाल्गुण २०७८, सोमबार ०७:२१ मा प्रकाशित

काठमाडौँ । सरकारले बुधबार एमसीसीसँगको सम्झौता अनुमोदन गराउने तयारी गरेको छ । अमेरिकाको दबाब बढ्दै गएपछि जनताको विरोधका बिचमा पनि एमसीसी पास गर्ने तयारी गरेको हो । 

एमसीसीको विरोधमा देखिँदै आएका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पनि लचक बनेको बताइएको छ । दुवै नेताबाट ग्रीन सिग्नल पाएपछि नै देउवाले संसदमा एमसीसी पेश गर्न लागेका हुन् । संसद बैठकमा उनीहरु दुवै अनुपस्थित हुनेछन् भने आफ्नो पार्टीका सांसदहरुलाई रोक्नै छैनन् । 

गठवन्धनले बुधबार एमसीसी संसदमा लाने विषयमा मंगलबार बैठक बसेर निर्णय गर्ने बताइएको छ । प्रस्तुत भएकै दिन एमसीसी पास गराउने योजना छ ।

अमेरिकाले यसअघिको प्रतिबद्धताअनुसार फेब्रुअरी २८ भित्र एमसीसी पास नगरे नेपालसम्बन्धी आफ्नो नीतिमा परिवर्तन गर्ने चेतावनी दिएपछि राजनीतिक दलहरु एमसीसी पास गराउन तयार भएका हुन् ।

एमसीसी पास गर्नको लागि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनसँग प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोगमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । काँग्रेसलाई एमसीसी पास गर्न सहयोग गर्ने अनि गठबन्धनलाई प्रधानन्यायाधिश हटाउन सहयोग गर्ने समझदारीकै कारण प्रधानन्यायाधिश हटाउने र एमसीसी पास गर्ने प्याकेज सहमती भएको बताइएको छ ।

यस विषयमा यता एमालेले आफ्नो भनाई सार्वजनिक गरिसकेको छैन । तर एमाले एमसीसीमा नकारात्मक नहुने अनुमान गरिएको छ ।