विराटनगर । विराटनगर –९, धोबियारीमा सामान्य घरायसी विवादमा देवरले भाउजूमाथि एसिड आक्रमण गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेनदेनको सामान्य विवादमा २५ वर्षीय श्रवण साहले २२ वर्षीया भाउजू रागिनी देवी साहमाथि एसिड आक्रमण गरेका थिए। गम्भीर घाइते उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। उनको अनुहारमा एसिड प्रहार गरिएको थियो।
घटनापछि श्रवण फरार छन्। आक्रमणकारीविरुद्ध जाहेरी दिन परिवारले आनाकानी गरिरहेको छ।
चिकित्सकका अनुसार रागिनीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। पारिवारिक स्रोतले जनाएको अनुसार, श्रवणले भाउजुसँग तीन हजार रुपैयाँ सापटी मागेका थिए। तर रागिनीले दुई हजार मात्रै दिएको भन्दै श्रवणले एसिड आक्रमण गरेका थिए।
श्रीमान् सन्तोष साहका अनुसार घटनाको केही घण्टा अघि नै श्रवणले उनलाई ज्यान मार्ने धम्की दिएका थिए।