पाथीभरामा असार महिनामा २० लाख भन्दा‍बढी भेटी संकलन

न्युजलय ३२ असार २०८१, मङ्गलबार ०५:४७ मा प्रकाशित

फुङ्लिङ । ताप्लेजुङको पाथीभरामा पछिल्लो एक महिनामा रु २० लाखभन्दा बढी भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार असारमा पाथीभरामा भत्तजनले चढाएको भेटीका रूपमा रु २० लाख ४४ हजार नौ सय भेटी संकलन भएको हो ।

संकलित भेटी सोमबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटी गणना गरी सो बराबरको नगद बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।