पटना गोलिकाण्डमा आरोपित विराटनगरको होटलमा मृत फेला

न्युजलय ३१ जेठ २०८३, आइतबार ०४:०५ मा प्रकाशित

 विराटनगर । भारतको पटनामा केही समय अघि भएको तोडफोड, आक्रमणमा संलग्न भई भारतीय प्रहरीको खोजी सूचीमा रहेका प्रिन्स कुमार विराटनगरमा मृत फेला परेका छन् ।

विराटनगर–१० को शुभ होटलमा प्रिन्स मृत फेला परेको प्रहरीले जनाएको छ । उनी केही दिन देखि सो होटलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनले बिरामीको उपचार गराउन आएको भनेर होटलमा विवरण टिपाएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मृतक प्रिन्ससँग अन्य भारतीहरू पनि सो होटलमा बस्दै आएका थिए । उनीसँग बस्दै आएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक प्रिन्स बिहारमा चर्चित खान सर काण्डका आरोपी भएको बताइएको छ ।

प्रहरीले उनीसँगै आएका साथीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र परिवारलाई बोलाएर शव बुझाउने तयारी भएको बताएको छ ।