इटहरी । इटहरीको पश्चिम लाइनस्थित एनसेल गल्लीभित्र स्मार्ट सजिलो ट्राभल एण्ड टुर प्रालिको कार्यालय उद्घाटन गरिएको छ।
कम्पनीका फाउन्डर तथा म्यानेजिङ डाइरेक्टर गणेश अधिकारी, मार्केटिङ म्यानेजर सुजन अधिकारी र बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले संयुक्त रूपमा कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।
केही समयअघिदेखि सञ्चालन हुँदै आएको स्मार्ट सजिलो ट्राभल एण्ड टुरले अब आफ्नै कार्यालयमार्फत सेवा विस्तार गर्ने जनाएको छ। कम्पनीले पर्यटकीय बस सेवा, होटल बुकिङ, टुर प्याकेज, ट्राभल इन्स्योरेन्स, गाइड सेवा लगायत विद्यार्थी तथा विभिन्न समूहका लागि आवश्यक ट्राभल तथा टुरसम्बन्धी सेवा उपलब्ध गराउनेछ।
कम्पनीले नेपालका प्रमुख पर्यटकीय गन्तव्यलाई लक्षित गर्दै विभिन्न टुर प्याकेज सञ्चालन गर्ने जनाएको छ। मुस्ताङ, पोखरा, चितवन, लुम्बिनी, रारा, मुगु लगायत नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा भ्रमण प्याकेज सञ्चालन गरिने कम्पनीका फाउन्डर तथा म्यानेजिङ डाइरेक्टर गणेश अधिकारीले बताए ।
‘वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै केही गर्नुपर्छ’ भन्ने उद्देश्यका साथ ट्राभल व्यवसाय सञ्चालनमा ल्याइएको अधिकारीको भनाइ छ।
स्मार्ट सजिलो ट्राभल एण्ड टुरले यसअघि पनि विभिन्न ट्राभल तथा टुरसम्बन्धी सेवा प्रदान गर्दै आएको थियो। आफ्नै कार्यालय सञ्चालनमा आएसँगै ग्राहकलाई थप सहज, व्यवस्थित र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीका बिजनेस डेभलपमेन्ट म्यानेजर सञ्जीव तिम्सिनाले बताए ।
नयाँ कार्यालय सञ्चालनसँगै इटहरीबाटै देशका विभिन्न पर्यटकीय गन्तव्यमा भ्रमणका लागि आवश्यक यातायात, होटल, टुर प्याकेज, बीमा तथा गाइडसहितको एकीकृत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।