सुनसरी पसे हात्ती : बराहक्षेत्रमा एकको ज्यान गयो, धरानमा सतर्कता

न्युजलय २६ पुस २०८०, बिहिबार १०:४२ मा प्रकाशित

सुनसरी । लामो समयदेखि मोरंग र झापामा बसिरहेको हात्तीको बथान सुनसरी आएको छ । एक जनाको मृत्यु भएको छ भने धरान उपमहानगरपालिकाले सतर्कता अपनाउन सुचना जारी गरेको छ ।

सुनसरीको बराहक्षेत्र ५ मा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबीनकृष्ण भण्डारीले जानकारी दिए ।

बिहान नजिकैको जनजागृति सामुदायिक बनमा घाँस काट्न गएका विष्ट दिउसोसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हात्तीले कुल्चिएर मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिए । नजिकै हात्तीको बथानहरु भेटिएका छन् ।

यस्तै यता धरान उपमहानगरपालिकाले नगरवासीलाई सावधानी अपनाउन सुचना जारी गरेको छ । धरान उपमहानगरपालिका क्षेत्रभित्रको वन जंगलमा प्रवेश गर्न सक्ने अवस्था देखिएको भन्दै वन जंगल छेउका वस्तीका नागरिकहरु, सम्पूर्ण नगरवासीहरु, वडा कार्यालयहरु, डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालयहरु, सुरक्षा निकायहरुलगायत सबै पक्ष सतर्क, चनाखो रही सुरक्षित हुन सूचनामार्फत आग्रह गरेको छ । मेयर हर्क साम्पाङले सुचना जारी गरेका हुन् ।

साथै विशेष गरि वडा नं ५, ६, ८, १४, १५, १७, १८, १९ र २० का वन छेउका समुदायहरुमा हात्तीको आतंकको जोखिम हुने अवस्था देखिएमा तुरुन्त नजिकैको वडा कार्यालय, सुरक्षा निकाय, डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालयहरु र धरान उपमहानगरपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ । 

दुई महिनायता झापाको बाहुनडांगी क्षेत्रबाट नेपाल प्रवेश गरेका हात्तीको बथानले पूर्वी तराइमा ७ जनाको ज्यान लिएको छ ।