काठमाण्डौ । रकम लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेचेको आरोपमा महानगरीय अपराध महाशाखाले चारजनालाई पक्राउ गरेको छ ।
भक्तपुरको नागरिक कम्युनिटी अस्पतालको परिचयपत्र भएका रोशनकुमार छिट्टान, सोही अस्पतालका ल्याब म्यानेजर प्रसन्नकुमार झा, काठमाडौंको तिनकुनेमा रहेको कान्तिपुर अस्पतालको कर्मचारी परिचयपत्र भएका नागेन्द्रकुमार यादव र सोही अस्पतालको ल्याबका कर्मचारी माधव मैनाली पक्राउ परेका हुन् ।
उनीहरूलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । कोरोना संक्रमण पजिटिभ आएकाहरूलाई पनि नेगेटिभ रिपोर्ट बेचेको जानकारी आएपछि महाशाखाले अनुसन्धान थालेको थियो ।
हाल दुवै अस्पतालका सञ्चालक फरार रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हाल दुवै अस्पतालका पिसिआरसम्बन्धी सबै सेवा बन्द गरिएको र थप अनुसन्धान कार्य भइरहेको छ ।