काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन जेठमा गर्ने निर्णय भएको छ।
युनियनको आठौं महाधिवेशन भएको आठ वर्षपछि नवौं महाधिवेशन गर्न लागिएको हो।
आइतबार बसेको युनियनको बैठकले नवौं महाधिवेशन ०७९ जेठ १३ र १४ गते गर्ने निर्णय गरेको कार्यबाहक महासचिव भीष्मराज ओझाले जनाएका छन्।
युनियन महासचिव अजयबाबु शिवाकोटी भने कांग्रेस केन्द्रीय सदस्य भइसकेका छन्। साथै महाधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा हुनेछ।
युनियनको महाधिवेशन स्थापना दिवस पारेर नवौं महाधिवेशन गर्न लागिएको छ। प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो।
२०७१ भदौमा युनियनको पोखरामा आठौं महाधिवेशन भएको थियो भने उक्त महाधिवेशनबाट अध्यक्षमा बद्री सिग्देल निर्वाचित भएका थिए।
महाधिवेशन मिति तय गरेर पनि पटकपटक सारेको र महाधिवेशन गर्न नसकेको भन्दै युनियन नेतृत्वको आलोचना हुँदै आएको थियो।