मतदाता परिचय पत्र नभएकाले पनि भोट हाल्न पाउने

न्युजलय २८ बैशाख २०७९, बुधबार ०१:५७ मा प्रकाशित

काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरूले पनि मतदान गर्न पाउने भएका छन् ।

 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।


मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।


मतदानका लागि निर्वाचन आयोगले देशैभरि दश हजार ७५६ वटा मतदान स्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिसकेको छ । अहिलेको व्यवस्थाअनुसार मतदानभन्दा ४८ घण्टाअगाडि मतदात केन्द्रहरूमा मतदान अधिकृतहरूलाई पठाइन्छ । आयोगले मतदान अधिकृतहरू मतदान केन्द्रमा पुगेकै दिनदेखि स्वयंसेवक खटाएर मतदाता परिचयपत्र बाँड्ने व्यवस्था मिलाउँदै आएको छ ।


स्थानीय निर्वाचनका लागि आफ्नो मतदाता नामावली दर्ता भएको स्थानीय तहबाट मात्र मतदान गर्न सकिन्छ । मतदान गर्न मतदाताले आयोगद्वारा जारी मतदाता परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था छ । तर मतदाता परिचयपत्र हराएमा वा नभएमा मतदान गर्न पाइने आयोगले जनाएको हो ।