झापा । मेचीनगर–१० काँकडभिट्टामा रहेको एस एन्ड एस फुटवेयर उद्योगमा आज आगलागी भएको छ । श्याम पिन्टु खेतानको स्वामित्वमा रहेको सो उद्योगमा आज १२ बजेतिर विद्युत् सर्ट भई आगलागी भएको थियो।
झापा र मोरङका १० वटा र भारतका तीन वटा दमकलको सहायताले ५ घण्टामा आगो निभाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले बताए।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा अपरान्ह ५ बजेतिर आगलागी पूर्णरूपमा निभाइएको उनले जानकारी दिए। मेचीनगर नगरपालिकाका दुईवटै दमकल बिग्रिएको हुँदा जिल्ला बाहिर र भारतबाट दमकल मगाइएको थियो। काँकडभिट्टाको उत्तरी भागमा आवास क्षेत्रमा कारखाना रहेको छ।
आगलागीमा जुत्ता, चप्पल, कच्चा पदार्थ, केमिकल र कारखानाको भौतिक सम्पत्ति समेत गरेर आठ करोडको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको उद्योगी खेतानले बताए।