इटहरी । इटहरीस्थित जनता स्कुल र कस्तुरी एकेडेमीका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका छन् ।
जनता स्कुलमा अध्ययनरत कक्षा १० की सिम्रन राई प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो फेस्टमा ४१ किलो तौल समुहमा प्रथम भएकी छिन् । यसैगरी उनले ३७ किलो तौल समुहमा दोस्रो स्थानसमेत हाँसिल गरेकी छिन् ।
गोर्खा हिल तेक्वान्दो एशोसिएसन, सिलिगुरी तेक्वान्दो एकेडेमी, बंगाल तेक्वान्दो एशोसिएसन र दिल्ली पब्लिक स्कुल सिलिगुरीको आयोजनामा भएको प्रतियोगितामा उनले दुई महत्वपूर्ण पदक जितेकी हुन् ।
यसैगरी इटहरीकै कस्तुरी एकेडेमीका दुई छात्रालेसमेत उक्त प्रतियोगितामा पदक जितेका छन् । कक्षा ६ की विशेषता सत्याल र कक्षा ९ मा अध्ययनरत सुहाना लिम्बुले सब जुनियर महिलातर्फ काँस्य पदक जितेको तेक्वान्दो प्रशिक्षक प्रसन्न तिम्सिनाले जानकारी दिए ।
यस्तै जनता स्कुलकै अर्का छात्र कक्षा १० का आशीष लकान्द्री छैठौं राष्ट्रय केन्पो तेक्वान्दो प्रतियोगितामा दोस्रो भएका छन् । पोखरामा भएको प्रतियोगितामा ५५ किलो तौल समुहमा उनले उक्त स्थान हाँसिल गरेका हुन् ।
जनता स्कुलका व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगाल र प्रधानाध्यापक पशुपति सिग्देलले आफ्ना विद्यार्थीहरुलाई सम्मान गरेका छन् ।