सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा शनिबार (आज) बाट चरा गणना गर्न लागिएको छ। हरेक वर्ष पुसमा हुने चरा गणना यो ३५औं हो।
कोशी पंक्षी समाजका अध्यक्ष संजीव आचार्यका अनुसार यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ।
कोशी पंक्षी समाज, बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउन्डस्, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पंक्षी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पंक्षीविद् संघलगायतका संस्था चरा गणनामा सहभागि भएको अध्यक्ष आचार्यले जानकारी दिए।
कोशीटप्पु वन्यजन्तु आरक्ष भित्रको चरिचरनले चराको स्वर्ग भनेर चिनिने यस क्षेत्रमा युरोपदेखि आउंने चराको संख्या घट्दै गएको छ।
गणनामा कोशी नदीभित्र र बाहिरका सिमसार क्षेत्रमा गणना गरिन्छ।
चराविद्हरुका अनुसार साइबेरियादेखि उडेर आउंने चराको बासस्थानमा मानव अतिक्रमण बढेकाले कोशीटप्पुमा कम हुँदै गएको छ। गाई, भैंसी चराउने र माछा मार्नेहरूका कारण हिमाल पारिबाट उडेर आउने चरा भारत तर्फको कोशीमा ओर्लने गरेको उनीहरू बताउँछन्।