लोडसेडिङ नहटे उद्योग बन्द गर्ने उद्योगीको चेतावनी

न्युजलय १५ चैत २०७८, मङ्गलबार ०९:४१ मा प्रकाशित

विराटनगर ।  मोरङ औद्योगिक क्षेत्रमा दैनिक लोडसेडिङ हुन थालेको छ। 

उद्योगीहरूका अनुसार दुई सातायता औद्योगिक क्षेत्रमा निरन्तर १२ घन्टासम्म लोडसेडिङ भइरहेको छ।

दैनिकजसो लोडसेडिङ हुन थालेपछि उद्योग कलकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको उद्योगीहरूले बताएका छन्।

दुई बर्षदेखि कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्र १२ घन्टासम्म गरिएको लोडसेडिङले कलकारखाना चलाउनै नसक्ने अवस्था सिर्जना भएको नेपाल उद्योग परिसंघ प्रदेश १, मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले मंगलबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलका अनुसार अघोषित रूपमा बिजुली आपूर्ति बन्द हुने गरेको छ।

नेपाल विद्युत प्राधिकरणले भारतबाट आयातित बिजुली आपूर्ति बन्द गरेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरू भएको हो।

गत मंगलबारदेखि भारतबाट आइरहेको विद्युत आपूर्ति बन्द छ।