बेतनामा फेला पर्‍यो अति सङ्कटापन्न ‘ब्लाक सफ्टसेल’ कछुवा

न्युजलय ९ भदौ २०८०, शनिवार ०४:०९ मा प्रकाशित

मोरङ । बेलबारीस्थित बेतना सिमसारमा नयाँ जातको कछुवा फेला परेको छ । अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएका छन् ।

सन् २०२२ मा आरको नेपालको सहयोगमा अष्ट्रियाका वैज्ञानिक डा पिटर प्रस्छाङको नेतृत्वमा गरिएको  अनुसन्धानले मोरङको बेतना सिमसारमा ब्लाक सफ्ट सेल (कालो नरम खपटे) प्रजातिको कछुवा फेला पारेको हो । 

भारत र बङ्गलादेशको केही स्थानमा मात्र भेटिने उक्त कछुवा झट्ट हेर्दा मयूर प्वाँखे कछुवासँग मिल्दाजुल्दो देखिन्छ तर फरक प्रजातिको रहेको बताइएको छ । । हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् ।