४० घण्टादेखि सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा एक कामदार बेपत्ता

न्युजलय १५ माघ २०७८, शनिवार ०२:१० मा प्रकाशित

सोलुखुम्बु । निर्माणधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा ४० घण्टाभन्दा बढी समयदेखि बेपत्ता कामदारको अवस्था अझै थाहा हुन सकेको छैन । हिजो बिहीबार बिहान झन्डै ५ बजेको समयमा सुरुङभित्र जाने क्रममा बेपत्ता बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।


चौधरीको खोजीका लागि हिजोदेखि नै नेपाल प्रहरीका १४ र नेपाली सेनाका १२ जना टोली परिचालित भए पनि सुरुङभित्रको कुन क्षेत्रमा बेपत्ता भएको हो भन्ने पत्ता लाग्न नसक्दा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले जानकारी दिए। खोजीका लागि झन्डै दुई सय मिटर गहिरो सुरुङभित्र प्रहरी र सेनाको टोली साधन–स्रोतसहित सक्रिय भए पनि अहिलेसम्म फेला पार्न नसकिएको घटनास्थल पुगेका डीएसपी कटवालले बताए ।


हिजो सुरुङ मार्ग जाने क्रममा बकेट चुँडिदा एक जना बेपत्ता भएका हुन् भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो । घाइते पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ ।