सहयोग बोकेर सुत्केरीको घरघरमा उपमेयर

रोजी खतिवडा १० बैशाख २०७९, शनिवार १२:४० मा प्रकाशित

उदयपुर घर भई इटहरी १२ स्थित खनारमा डेरा गरी बस्ने बिना मगर अहिले २२ दिनकी सुत्केरी छिन् । उनको दिचर्या छोरीको स्याहारसुसार मै बित्ने गर्छ । उनले इटहरी अस्पतालमा प्रसुति राम्रोसंग गराइन्छ साथै उपमेयर सुत्केरी भेटघाट कार्यक्रम समेत हुन्छ भन्ने सुन्दै आइरहेकी थिइन् । 


नजिकै राम्रो डेलिभरी गराउने अस्पताल हुँदाहुँदै किन टाढा जाने भन्ने लागेर उनले पनि आफ्नो डेलिभरी इटहरी अस्पतालमै गराउने निधो गरेर नियमित चेकजाँच गर्न थालिन् । र अन्त्यमा उनले त्यही डेलिभरी गराइन् ।


उनको श्रीमान सामान्य मजदुरी काम गर्छन् । श्रीमानकै भरमा उनीहरुको परिवार चल्ने गरेको छ । बिनाको छोरी जन्मेको दुई दिन पछि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम चामल, दाल, तेल, गेडागुडि, अण्डा, आमा र बच्चालाई एकएक जोर कपडा लिएर बिनाको घर पुगिन् । यो देखेर बिना निकै खुशी भइन् । सुत्केरी भएर बसेको बेला उपमेयरले खानेकुरा, कपडा बोकेर आफूलाई हेर्न आउँदा आमा नै भेट्न आएको महसुस उनले गरिन् । उनले भनिन्, ‘घरदेखि टाढा आएर बसेका बेला उपमेयर यसरी अउँदा मलाई निकै खुशी लाग्यो, आफ्नै आमा भेट्न आएको महसुस गरेँ ।’


मगर जस्तै इटहरी वडा नं. ४ गैरीगाउँकी कमला दर्जी पनि सुत्केरी भएको २३ दिन भयो । उनले पनि छोरीलाई जन्म दिएकी छिन् । इटहरी अस्पतालमा पैसा पनि नलाग्ने अनि राम्रो डेलिभेरी हुने भएकाले उनीसहित उनको बुहारी, छोरी इटहरी अस्पताल नै जाने गरेको बनाउँछिन् । उनी सुत्केरी भएको ४ दिनमा उपमेयर गौतम उनको घरमा पनि पोषिलो खानेकुरा र कपडा लिएर पुगिन् । यो देखेर कमला खुशी भइन् । उनले भनिन्, ‘उपमेयर ज्यु खानेकुरा र कपडा बोकेर मलाई हेर्न आउनु भयो, आफ्नै आफन्त आएको अनुभुती भयो ।’

 

आफन्तहरु टाढा भएका बेलामा बिरामी हुँदा समस्या हुने गर्छ । कोही नजिकै भइदिएपनि हुन्थ्यो भन्ने अनुभुती हुन्छ । तत्काल आउने सम्भावना पनि नरहेको बेला उपमेयर घरमै आएपछि सुत्केरीहरु खुसी हुने गरेका छन् । आफ्नो श्रीमान्ले इटहरी चोकमा कपडा सिलाउने काम गर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका बेला १५ दिन सम्मलाई पुग्ने खानेकुरा लिएर उपमेयर पुग्दा दर्जी दंग परिन् । 


बिना र कमला त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता धेरै विपन्न परिवारलाई उपमेयर सुत्केरी भेटघाट कार्यक्रमले सहयोग पुग्ने गरेको छ । 


उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको सुरुवात भएपछि इटहरी अस्पतालमा प्रसुति गराउने महिलाहरुको संख्या बढेको इटहरी अस्पतालकी नर्सिङ इनचार्ज रितु मण्डल बताउँछिन् । कतिपय लक्षित वर्गका र विपन्न परिवारहरु उपमेयरले आफूलाई खानेकुरा लिएर भेट्न आउने कुरा थाहा पाएर नै इटहरी अस्पताल प्रसुतिको लागि आएको बताउने गरेको मण्डलले सुनाइन् । 


यस्तै, अलिक हुनेखाने परिवारको महिलाहरुले नियमित चेकजाँको लागि इटहरी अस्पताल आउने गरेको र पछि डेलिभरीको बेला चाहीँ विराटनगरका निजी अस्पतालहरु र धरान घोपा क्याम्प जाने गरेको उनले बताइन् । 


इटहरी अस्पतालले नियमित चेकजाँच गराउँदै आएका गर्भवति महिलालाई करुना फाउण्डेसनको सहयोगमा डेलिभरीको लागि इन्भिटेशन कार्ड समेत पठाउने गरेको छ । प्रसुति गराउने बेलामा केही समस्या आएमा इटहरी अस्पतालमा भएको एमबुलेन्सको व्यवस्था गरेर अन्य अस्पतालमा रेफर गरिन्छ । 


गर्भवति अवस्थामा महिलाले प्रोटोकलअनुसार चार पटक नै इटहरी अस्पतालमा स्वास्थ्य चेकजाँच गराएको पाइएमा अस्पतालको नियमअनुसार यतायात खर्च भनेर डेलिभरीको बेला १००० रुपैयाँ र थप ८०० गरेर १८०० रुपैयाँ र आमा बच्चाको लागि न्यानो कपडा पाइन्छ । यस्तै, डेलिभरी मात्र गर्न आएका छन् भने सरकारको नियमअनुसार यातायात खर्च भनेर १००० रुपैयाँ र न्यानो कपडा अस्पतालले दिंदै आएको छ । 


उपमेयर भेटघाट कार्यक्रम सुरु भए यता अस्पतालमा प्रसुति गराउन आउने महिलाको संख्या ह्वात्तै बढेको समेत मण्डलले बताइन् । पछिल्लो वर्ष १३०, १४० जनाको हाराहारीमा गर्भवति महिला प्रसुति गर्न इटहरी अस्पताल आएको उनी बताउँछिन् । जुन संख्या अघिल्ला वर्षको तुलनामा तेब्बर बढि हो ।


विश्वभर नै कोरोनाको त्रास भएको बेलामा समेत इटहरी अस्पतालमा पिपिई लगाएर गर्भवति महिलाहरुको प्रसुति गराइएको थियो । ‘निजि अस्पतालले प्रसुति नगरिरहेको अवस्थामा पनि हामीले सावधानी अपनाएर प्रसुति गरेका थियौँ,’ मण्डलले भनिन् ।


इटहरी अस्पताललाई इटहरी उपमहानगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा स्तरोन्नति गर्यो । प्राथमिक स्वास्थ्य केन्द्र हुँदा पनि प्रसुति कक्ष थियो तर वर्ष भरीमा ४–५ जनाले मात्र सुत्केरी गराउथे । यहाँ सुत्केरी गराउने राम्रो व्यवस्था थिएन । 


आफूहरु आएपछि त्यसलाई स्तोन्नति गरेर सेवा थप गरेर राम्रो बनाएको इटहरी उपमहनगरपालिकाकी उपमेयर लक्ष्मी गौतम बताउँछिन् । स्वास्थ्य बिमा कार्यक्रम आएपनि सुत्केरीहरु अस्पताल गइरहेका थिएनन् । ‘अस्पताल जानैपर्ने महिलाहरु धरान, विराटनगर जाने त्यस्तो खाल्को अवस्था रहिरहेको थियो,’ गौतम भन्छिन्, ‘सम्पन्न परिवारका मानिसहरु प्रसुति गराउन महँगा अस्पताल गइरहेको समयमा विपन्न समुदायका गर्भवतीहरुको लागि इटहरी अस्पतालले ठूलो राहत दिएको छ ।’ कतिपय महिलासँग फेर्नलाई कपडा समेत नभएको देखेपछि उपमेयर सुत्केरी भेट्घाट कार्यक्रम सुरु गरेको उपमेयर गौतमले जानकारी दिइन् ।


यो वर्षसम्म तीन आर्थिक वर्षसम्म कार्यक्रम सञ्चालन भइसक्दा दर्जनौं सुत्केरीहरुले सहयोग र सद्भाव पाएका छन् । दाल, चामल, तेल, अण्डा, गेडागुडि गरेर १५ दिनलाई खान पुग्ने खाद्यान्न लिएर आफू जाने गरेको उपमेयर गौतम बताउँछिन् । त्योसंगै आमा बच्चालाई कपडा र स्वास्थ्यकर्मीसमेत उनीसँगै हुन्छन् ।


उपमेयरसमेत गाउँगाउँमा गएर सुत्केरीलाई सहयोग गरेको देखेपछि अहिले एक महिनामै ३०–३५ जनासम्म इटहरी अस्पतालमा डेलिभरी गराउन आउन थालेका छन् । उपमहानगरपालिकाले छुट्याउने गरेको बजेटले थाम्नै नसक्ने अवस्था आएको बताउँदै सहयोगलाई निरन्तरता दिइने बताइन् ।


कतिपय सुत्केरीहरु आफूलाई फोन गरेर कहिले आउने भनेर पनि सोध्न थालेको गौतम बताउँछिन् । कतिले समस्याहरु पनि भन्छन् । म सक्दो सहयोग गर्छु ।


‘कति सुत्केरीहरुको घरमा पुग्दा आमा आएजस्तै लाग्यो भनेर भावुक हुन्छन्,’ उनले भनिन्, ‘विपन्न गरिब वर्गका मानिसमा यस कार्यक्रमले निकै ठुलो प्रभाव छोडेको छ ।’