मोरङमा लक्षित वर्गका ८५ प्रतिशतलाई कोरोना खोपको ‘पहिलो डोज’

शंकर खत्री ९ माघ २०७८, आइतबार ०३:१४ मा प्रकाशित

इटहरी । प्रदेश १ को मोरङ जिल्लामा लक्षित वर्ग मध्येका ८५ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोपाको पहिलो डोज लगाएका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिएका छन् । नेपाल सरकारले निर्धारण गरेको मापदण्डमा पर्ने १८ वर्षमाथिका ८५ प्रतिशत जिल्लाबासी नागरिकले कोरोना खोपको पहिलो मात्रा लगाएको उनले बताएका छन् । 


यस्तै दोस्रो डोज लगाउनेको संख्या पनि ५० प्रतिशतबाट उकालो लागेको उनले जानकारी दिए । मोरङमा पहिलो मात्रा लगाएका ५५ प्रतिशत नागरिकले दोस्रो डोज लगाएको उनले बताए । ‘खोप सबै पालिकामा अभियानको रुपमा भइरहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि खोपको अभाव छैन भनेर हामीलाई जानकारी दिएको छ’, प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘अहिले खोप लगाउनेको संख्या पनि बढीरहेको छ । मोरङमा १८ वर्षमाथिका ८५ प्रतिशत बढीले पहिलो मात्राको खोप लगाइसक्नुभएको छ । र दोस्रो डोज चाहिँ ५५ प्रतिशतमा पुगेको छ ।’


यता प्रदेश १ मा नै मोरङ संक्रमित संख्याको आधारमा पहिलो रहेकाले त्यसको जोखिम कम गर्न गत माग ४ गतेदेखि जिल्लामा हुने आवत जावत र अन्य गतिविधिमा कढाइ गरिएको उनले जनाए । उनले ४ गतेबाट जारी भएको सो आदेश माघ मसान्तसम्म लागू हुने जानकारी दिए । यो अवधिमा अधिक मानविय जमघट हुने आमसभा, जुलुस जस्ता क्रियाकलापमा रोक लगाएको उनले जानकारी दिएका छन् । नगरी नहुने त्यस्ता क्रियाकलापमा जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारको स्वीकृति लिएर २५ जनासम्म मात्रै सहभागि गराउन पनि निर्देशन दिइएको उनले बताए । त्यसमा पनि जनस्वास्थ्यका मापदण्ड पालनालाई सम्बेदनशील भएर पुरा गर्न पनि सुझाइएको उनको भनाइ छ । 


यसैगरि नेपाल–भारत सिमा नाका आवत जावतमा पनि कडाइ गरिएको उनले जानकारी दिए । यसरी हुने आवत जावतमा खोप कार्ड र मास्क अनिर्वाय गरिएको छ । मोरङबाट छिमेकी देश भारतका बजारमा दैनिक उपभोग्य सामानसँगै अन्य सामान खरिदका लागि पनि मानिसहरु आवत जावत गर्ने भएकाले भारततर्फको प्रशासनसँग पनि जोखिम न्यूनिकरणमा हातेमालो गर्न मौखिक र लिखित रुपमा अनुरोध गरिएको उनले जानकारी दिए । 


‘भारतमा लामो समय बसेर आउने, रेल यात्रा गरेर आउने र विभिन्न सवारीसाधनका नेपाल प्रवेश गर्नेलाई रानिमा परिक्षणको व्यवस्था गरेकाछौँ’, उनले भने, ‘अहिले भारतमा कोरोना अत्याधिक छ त्यसलाई पनि मध्यनजर गरेर हामीले कडाइ गरेका हौँ । यस्तै भारतिय बजारमा सामान किन्न जानलाई पनि मास्क र खोप कार्ड पनि हामीले अनिवार्य गरेका छौँ । सिमा नाकामा खोप कार्ड अनिवार्य गर्ने जिल्लामा नेपालमा हामी नै पहिलो जिल्ला हौँ । यस्तै अन्य नाकाबाट आवत जावत गर्नेलाई पनि कडाइ गरिरहेका छौँ ।’ स्थानीय तह महामारी नियन्त्रण र निर्देशन कार्यान्वयनको सन्दर्भमा निणार्यक निकाय भएकाले जिल्ला भरका स्थानीय सरकारलाई निर्देशन पालनामा अनुरोध गरिएको पनि उनले जानकारी दिए ।