चितवन । उचित स्याहार र संरक्षण गर्न नसक्दा वंश विस्तारका लागि चितवन ल्याइएको अर्ना मासिने अवस्थामा पुगेको छ ।
पाँच वर्षअगाडि कोसी टप्पु वन्यजन्तु आरक्षण र सदर चिडियाखाना काठमाडौँबाट ल्याइएका १५ वटा अर्नामध्ये अहिले अरू मरेर तीनवटा पोथी अर्नामात्र बाँकी छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले चितवन निकुञ्जले राम्रो संरक्षण गर्न नसक्दा अर्नाको संरक्षण हुन नसकेको बताए ।
चितवन ल्याइएको अर्नाले छ वटा पाडापाडी जन्माएर विकास भइसक्दा पनि त्यसलाई संरक्षण र रेखदेख गर्न नसक्दा मर्न गएको महानिर्देशक डा. कँडेलले बताए ।
विक्रम संवत् २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना काठमाडौँबाट तीनवटा अर्ना ल्याएर निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुला खोर बनाएर राखिएको थियो । कोसी टप्पुको जस्तो वासस्थान चितवनमा नभएका कारण बचाउन मुस्किल भएको निकुञ्जका सहायक संरक्षण अधिकृत राजु घिमिरेले बताए ।