मन्त्रालय विभाजनको युवा संघद्वारा विराटनगरमा विरोध

न्युजलय २३ माघ २०७८, आइतबार ०५:५६ मा प्रकाशित

विराटनगर । प्रदेश १ मा मन्त्रालय विभाजनको विरोधमा आन्दोलनरत नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदेश प्रमुखको कार्यालय जाने बाटो अवरोध गरेका छन् ।

प्रदेशमा आइतबार(आज) मन्त्रिपरिषद् विस्तारपछि मन्त्रीहरुको शपथ ग्रहण गराइँदै छ। युवा संघले नयाँ मन्त्रीको शपथ ग्रहणका लागि जाने बाटो छेकेर अवरुद्ध बनाएको हो। युवा संघका नेता कार्यकर्ता सडकमै बसेर अवरोध गरिरहेका छन्। 

प्रदेश १ मा ७ वटा मन्त्रालयलाई विभाजन गरेर मन्त्रालयको संख्या १३ पुर्‍याइएको छ। 

संघले मन्त्रालय विभाजनको विरोधमा सडकमा निस्किएर आन्दोलन गरिरहेको छ। मन्त्रालय विभाजन गरी सरकारले आर्थिक भार बढाउने काम गरेका कारण नयाँ मन्त्रीले शपथ ग्रहणका लागि जाने मुख्य बाटो छेकिएको राष्ट्रिय युवा संघ नेपालले जनाएको छ ।