वृद्धवृद्धाहरुको ‘जक्सन’ इटहरीको जेष्ठ नागरिक चौतारी

शंकर खत्री २५ पुस २०७८, आइतबार ०८:१२ मा प्रकाशित

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ बगैंचा टोलका ९६ वर्षीया नरबहादुर बानीय विहानको खाना खाना खाएपछि लौरिको सहारामा घरबाट निस्कन्छ । एक छोरा बुहारी, एक नाती तथा  दुई पनाती अभिभावकसमेत रहेको उनि उपमहानगरको कार्यालय परिसरमा रहेको चौतारा पुग्छन् । 

त्यहाँ उनि जस्तै अन्य जेष्ठ नागरिक पनि उसैगरि घरबाट आउँछन् । उनि लौरीकै सहारामा घरबाट उपमहानगरको मेचि–महाकाली पोखरी किनारमा रहेको सो चौतारी पुग्छन् । चौतारीको नाम हो जेष्ठनागरिक चौतारी । विहान १० बजेदेखि दिउँसो २÷३ बजेसम्म उनिको समय त्यहि चौतारीमा बित्छ । उनि जस्तै त्यहाँ सुनसरीको इटहरी तथा छिमेकि जिल्ला मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट पनि वृद्धवृद्धाहरु यहाँ आउँछन् । 

त्यहाँ आउने वृद्धवृद्धा मध्ये वानीय सबैभन्दा जेष्ठ हुन् । उनका छोराबुहारीहरु जागिरे छन् । सोहि कारण विहान वेलुका मात्रै उनिहरुको साथमा वानीय बस्छन् । दिनभर उनको दैनिकी घरमा बस्दा पट्यारलाग्दो हुन्छन् । त्यहिकारण पट्यारलाग्दो दैनिकीलाई रमाइलोमा परिणत गर्न उनि यो चौतारी दिनहुँ आउँछन् । घरमा कुनै पर्व उत्सव हुँदा बाहेक अन्य समयमा उनि यहि चौतारमा भेटिन्छन् विहान १० बजेदेखि ३ बजेसम्म । 

‘घरमा बस्दा बस्दा पट्यार लाग्छ । यहाँ आउँदा रमाइलो लाग्यो’, बानीयले भने, ‘यहाँ पहिलादेखि बस्न थालियो । त्यहि भएर यहँ रसभिज्यो । म हिड्न सक्दिन । ९६ वर्ष भएँ । तर पनि लौरो टेकेर भए पनि यहाँ आउँदैछु । किन भने घरमा बस्दा पट्यार लाग्छ । छोरा बुहारी उनिहरुको पेसामा हिडीँजान्छन् ।’ सबै दाँत खसेर गिजामात्रै बाँकी रहेका बानीय खित्त हाँस्दै भन्छन्, ‘घरमा मेरो एउटा बुढीमान्छे छे । त्यो कुप्री पर्दै बस्छे । त्यहि भएकाले म चाहिँ यहाँ साथीहरुसँग भेट हुन्छ बोल्न पाइन्छ भनेर यहाँ आउँछु ।’ 

उनि जस्तै यहाँ नहुँदा पनि दिनमा ६० जनासम्म वृद्धवृद्धा भेला हुन्छ । एकपटक यहाँ कोहि आयो भने दैनिक आउँ आउँ भन्ने बातावरण उसको लागि बनिहाल्छ । किन भने यहाँ वृद्धवृद्धाका लागि आवश्यक सम्पूर्ण कुरा छ । मुख्य कुरा यहाँ वृद्धवृद्धालाई आवश्यक पर्ने रामाइलो छ । अनि मन भूलाउने अनेक माध्यम छन् । 

उपमहानगर परिसर मात्रै होइन् वडा नम्बर ६ को कार्यालयसँगै रहेकाले यहाँ आउने धेरैले यी उपमहानगरको काममा आएका सेवाग्रही होलान् भन्ने सोच्छन् । कतिपयले वृद्ध मात्रै देख्दा यो कुनै वृद्धआश्रम होला भन्ने ठान्छन् ।

कोहि यहि द्वीविधामा जान्छन् त कोहिले सोधिहाल्छन् । कतिपयले चाहिँ यहिँ राखिएको बोर्डमा आँखा पुर्याउँछन् अनि जेष्ठनागरिक चौतारी रहेछ भन्ने थाहा पाउँछन् । २०६५ सालमा औपचारीक रुपमा जेष्ठनागरिक समाज इटहरीको स्थापना नै गरेर यहाँ आउने वृद्धवृद्धाहरुलाई थप व्यवस्थीत रुपमा राख्न सुरु गरिएको छ । जसले गर्दा पनि वृद्धवृद्धालाई थप सहज भएको पाइन्छ । 

यनि वृद्धवृद्धा माझ लामो दारी पालेका हेर्दा जोसिला देखिने टंगप्रसाद भेटवाल पनि भटिन्छन् । उनको उमेरको कुरा गर्ने हो भने ७० दशक पुरा गरिसकेका छन् । एउटा भनाइ छ नि ‘ज्यान बुढो भए पनि मन तन्नेरी छ’ यो भनाइ ठ्याक्कै उनमा चरितार्थ हुन्छन् । उनको जोस र फुर्ती हेर्दा उनि ७० दशक पुगेका भन्दा पनि भरखर अधबैंसे उमेर पुगेका युवा जस्तो देखिन्छन् । 

जो यी वृद्धवृद्धाहरुको मन प्रफुल्लित बनाउन भजन सुनाउँछन् । कथा अनि कविता पनि उस्तै मज्जाले भन्छन् । ठट्यौली गर्न पनि उनि हामारी छन् । उनको घर चाहिँ वडा नम्बर ५ पचरुखी हो । उनि पनि बानीय जस्तै विहान १० बजे यहि चौतारीमा आइपुग्छन् । दिनभर सुखदुखका कुरा साटासाट्ट गर्छन् अनि पुनः घर फर्कन्छन् ।

‘हामी यो जेष्ठनागरिक समाजको सदस्य भएका छौँ । हामी दिनैपिच्छे यहाँ आउँछौँ’, उनले भने, ‘यहाँ हामीभन्दा जेष्ठ बुबाआमा पनि हुनुहुन्छ । हामी उहाँहरुका मिठामिठा कुराहरु सुनेर दिन विताउँछौँ । एक जना पण्डीत ज्यूले पुराण पनि भन्नुहुन्छ ।’

उनले अगाडि थपे, ‘हामी आफ्ना मनका कुरा साटासाट गरेर हाँसखेल गर्छौँ ।’ उनले आफैँ लेखेको ‘पाथीभर माता भजन संग्रह’ संधै उनको साथमा हुन्छन् । त्यहि रहेका भजनहरु सुनाएर उनि यहाँ आउने वृद्धवृद्धाको पट्यारलाग्दो दैनिकीलाई रमाइलो पारिदिन्छन् । उनि दुख वेदनाका गीत भजन मात्रै होइन् ठट्यौली पाराका गीत पनि सुनाउँछन् । 

बुढो भएँ साली ज्यू लौरो टेकेर

आएँ मत साली ज्यू तिम्लाई देखेर 

पटुकीले साली ज्यू कम्मर कसेर 

गफगरौँन साली ज्यू सँगै बसेर

अघि उमेर छँदाखेर भेटै हुन गाह्रो 

बल्ल अब भेट भयो उमेर ठल्की हाल्यो 

उनिले ठट्यौली पारामा लेखेको यो गीतले धेरैको वेदना पनि पोख्छ । यो त प्रतिनिधि कृति मात्रै हो उनि यो भन्दा मजेदार कयौँ कृतिहरु सुनाएर वृद्धवृद्धालाई खुसी पार्छन् । अर्को रमाइलो पक्ष त के भने यहाँ न लिङ्ग भेद छ न त जातीय भेद नै छ ।

सबैमा पारस्परीक सम्बन्ध कस्तो हुनुपर्छ र त्यसले समाजमा कस्तो सामाजस्यपूर्ण बातावरण सिर्जना गर्छ भन्ने कुरा यहाँ वस्ने जेष्ठनागरिकले देखाउँछन् । यहि चौतारीमा भेटीने इटहरी वडा नम्बर ५ खेति खोलाका जीतबहादुर तामाङ पनि कथा अनि पुराणका श्लोक सुनाउन माहिर छन् । 

आचार्य लाग्दो कुरा त के भने उनि भागवत भन्न निक्कै माहिर छन् । वौद्ध परम्परामा जन्मे हुर्केका उनिले यहिँ आएर भागवत सिके । ‘मैले देवि भागवतको एक दुई वटा अक्षरहरु पढेको थिएँ’, उनले भने, ‘म संधै त्यो यहाँ सुनाउँछु । सबैले मन पराउनुहुन्छ । खुशी लाग्छ । अघि भगवानको पालमा बनि आएको कथा कहानी भन्न पाउँदा एकदमै राम्रो लाग्छ । सबैले सुन्नु पर्छ जस्तो लाग्छ ।’

इटहरी ४ का ९० वर्षीय इन्द्रकुमार कार्की पनि यहिँ चौतारीमा आएर दिन विताउँछन् । वृद्ध भएपछि भजन कृतन नै रमाइलोको माध्यम हुने उनको बुझाइ अनि भोगाइ छ । त्यहि कारण उनि दैनिक यहाँ आउने गरेको सुनाउँछन् । यति मात्रै होइन् आफ्ना परिवार र समाजका बारेमा कुराहरु आदान प्रदान गरेर पनि दिन वित्तने उनले सुनाए । 

‘हामी यहाँ भेला भएर भजन सुन्ने पुराण सुन्ने गर्छौँ’, उनले भने, ‘हामी यहाँ धेरै ठाउँबाट आएका छौँ । त्यहि भएर तपाइँको ठाउँमा के छ हाम्रोमा त यस्तो छ भनेर सुनाउँछौँ । अनि अरुको पनि सुन्छौँ ।’ यसरी यहाँ जेष्ठनागरिक आउन थालेपछि उपमहानगरले उनिहरुलाई चिया खर्च बापतको रकम उपलब्ध गराउँदै आएको जेष्ठनागरिक समाज इटहरीका अध्यक्ष खगेन्द्र प्रसाद निरौलाले जानकारी दिए ।

सुरुमा उपमहानगरले उनिहरुलाई १५ हजार मासिक उपलब्ध गराउँदै आएको थियो । सोहि रकममा एक महिलाले त्यहा वृद्धवृद्धालाई चिया खुवाउँदै आएकी थिइन् । पछि उनले उपमहानगरले उपलब्ध गराउने रकममा हिनामीना गरेको भन्दै आफँ चिया बनाउन वृद्धहरु तम्सिए । 

२०६५ साल पहिला पनि यहाँ वृद्धवृद्धाहरुको जक्सन थियो । तर त्यो बेला अहिलेको जस्तो व्यवस्थीत बस्ने ठाउँ थिएन । हालका अध्यक्षसहित केहि वृद्धहरुले उपमहानगरमा गएर चौतारीलाई व्यवस्थीत बनाउन गुहारे । उनिहरुको आवाज उपमहानगरले सुनिदियो र व्यवस्थीत बस्ने टिनको ओत लगाइदियो ।

‘०६५ साल भन्दा पहिला पनि यहाँ बुढापाकाहरु आउँथे रे । पहिले यस्तौ व्यवस्थीत थिएन’, अध्यक्ष निरौलाले भने, ‘हामीले नगरपालिकासँग भनेर यहाँ चौतारो बनाउन लगायौँ ।’, उनले अगाडि थपे, ‘उपमहानगरले पहिले हामीलाई १५ हजार दिँदै आएको थियो । विचमा ५ हजार मात्रै दिने भनेपछि समाजको तर्फबाट हामी गयौँ । र, हामीलाई यतिले पुग्दैन भनेर मेयर साब लाई भन्यौँ । उहाँले ल १० हजार महिनाको भनेर तोक लगाइ दिनुभयो । अहिले त्यहि पैसाको हामी चिया खाइरहेका छौँ । त्यतिले नि पुग्दैन कहिले काहिँ तर हामी मेनेज गरिहेका छौँ ।’