तत्कालीन नगरप्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

न्युजलय ११ असोज २०८०, बिहिबार ०८:३८ मा प्रकाशित

इटहरी ।  उदयपुरको त्रियुगा नगरपालिकाका तत्कालीन नगरप्रमुख बलदेव चौधरीसहित चार जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको छ ।


नेकपा (एकीकृत समाजवादी) का कोशी अध्यक्ष उनी नेकपा एसका पोलिटब्यूरो सदस्य पनि हुन । चौधरीसहित चार जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा दायर भएको हो ।


चौधरीलाई आर्थिक वर्ष २०७८र७९ मा उठ्नुपर्ने राजस्व रकम ६२ लाख ९१ हजार २०४ रुपियाँ र ठेक्का नभएको भरौटे र बलौटे माटो गैरकानुनी ढङ्गले उत्खनन् गरी बिक्री गर्न दिएको राजस्व १८ लाख ४४ हजार १७७ रुपियाँ गरी जम्मा ८१ लाख ३५ हजार ३८२ रुपियाँ राजस्व चुहावट भएको आरोप लागेको छ । 


भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ बमोजिम राजस्व रकमको दोब्बर एक करोड ६२ लाख ७० हजार ७६४ रुपियाँ जरिवानाको मागदाबी लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


त्रियुगा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्कीले प्रतिवेदन तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयलाई अनदेखा गरेको आरोप लागेको छ । यसैगरी, तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकालले नदीजन्य सामाग्रीको ठेक्का दिँदा ठेक्को न्यूनतम रकम कायम गर्न मिलेमतो गरेका कारण राजस्व चुहावट भएको आरोप छ ।


निश्चल ट्रेडर्स हेटौडाका प्रोप्राइटर तथा ठेकेदार राजेश बछारले सम्झौता सर्त विपरीत बोलपत्र र सम्झौता नभएको दरभाउमा नदीजन्य पदार्थ उत्खनन् र बिक्री गरेको आरोपमा मुद्धा दर्ता भएको हो ।