सर्वोच्च परिसरबाट निहारिका राजपूत पक्राउ

न्युजलय २२ साउन २०७९, आइतबार ०७:४६ मा प्रकाशित

काठमाडौं । जबरजस्ती करणी मुद्दा दर्ता गराएकी निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालतबाट पक्राउ गरेको छ। 

आफूमाथि बलात्कार भएको र न्याय नपाएको भन्दै आन्दोलनरत राजपूतलाई आइतबार(आज) बिहान प्रहरी वृत्त सिंहदरबारको टोलीले अदालत परिसरबाट पक्राउ गरेको हो।

ब्यानर बोकेर निषेधित क्षेत्रमा गएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

आफूलाई ‘कुमारी आमा’ भनेर चिनाउने राजपूत आफूमाथि शिवराम श्रेष्ठले बलात्कार गरेको भन्दै आरोपितलाई कारबाही गर्नुपर्ने, आफ्नो बच्चाको डीएनए जाँच गर्नुपर्ने मागसहित काठमाडौं माइतीघरमा गत असारमा अनसन बसेकी थिइन्।

सरकारसँग पाँच बूँदे सहमति भएपछि अनसन तोडेकी उनको प्रशासनले कानुनी लडाइँमा आफूलाई सहयोग नगरेको आरोप छ।

धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय शिवराज श्रेष्ठले ०७६ कार्तिक ६ गते कोठामा कोही नभएको मौकामा ललाइफकाइ, डर धम्की देखाएर आफूमाथि बलात्कार गरेको आरोप उनको छ।

त्यसपछि उनले जबरजस्ती करणी मुद्दा दायर गरेकोमा मुद्दा चलिरहेकै समयमा २०७७ भदौ ०५ गते छोरालाई जन्म दिएकी थिइन्।