इटहरी । बुधबार सुनसरीमा सरकार सम्बद्ध गठबन्धन पार्टीको बैठक बस्यो । सो बैठकले पालिकाहरुमा वस्तुगत अध्ययनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । सहअस्तित्व कायम गर्दै अघि बढ्ने र स्थानीय तहको आसन्न निर्वाचनलाई लक्षित गरि बनाइएको यो कार्यदलप्रति सत्ता गठबन्धनका स्थानीय नेताहरुले भने आपत्ति जनाएका छन् ।
संयुक्त विज्ञप्ती जारी गर्दै सो समितिमा नेपाली काँग्रेसका सुनसरी सचिव विरेन्द्र साह, नेकपा (माओवादी केन्द्र)का मुक्साहाङ मेन्याङवो, नेकपा (एकीकृत समाजवाद) सुनसरीका सचिव बसन्त सुवेदी, जनता समाजवादी पार्टी सुनसरीका सचिव प्रदिप कार्की र राष्ट्रिय जनमोर्चाका हरीलाल अधिकारी रहेको जानकारी गराए लगत्तै स्थानीय नेता देखि भरखरै सम्पन्न काँग्रेस महाधिवेशनमा क्षेत्रीय सभापति पदका उमेदवारसम्मले आपत्ति जनाएका हुन् ।
काँग्रेस एक्लै पनि सुनसरीका बलियो रहेको ति नेताहरुको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै नेताहरुले काँग्रेसले गठबन्धन गर्दा विपक्षी दललाई थप जित्ने आधार बन्ने भन्दै आपत्ति जनाएका छन् । यो निर्वाचनमा काँग्रेसले इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकासहित १२ वटै स्थानीय तहमा बलियो रहेको दावि गर्दै आएको छ । गठबन्धन नै नगरे पनि अधिकांस पालिकाहरुमा जित्ने आधार रहेको नवगठित कार्यदलको विरोधका आवाज उठाउने काँग्रेसका नेताहरुको बुझाई छ । गठबन्धन गर्दा पालिकामा प्रभाव नै नभएका अन्य पार्टीका नेतालाई उमेदवार बनाउँदा अहिले देखिको प्रमुख विपक्षी एमालेलाई फाइदा पुग्ने उनिहरु बताउँछन् ।
इटहरी र धरानमा नै काँग्रेस बलिया भएको उसको बुझाई छ । यो विचमा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले जनअपेक्षीत काम गर्न नसकेको फाइदा काँग्रेसले उठाउन दाउमा छ । यसको ‘टेलर’ धरानमा भएको उप निर्वाचनबाट पुष्टि भएको काँग्रेसको बुझाई छ । सो निर्वाचनको परिणामले पनि काँग्रेसलाई हौसाइ रहेको छ । यस्तोमा बुधबार भएको गठबन्धनको बैठक र त्यसले गरको कार्य बाँडफाँडले काँग्रेसलाई क्षति पुग्ने भन्दै धेरैले विमती पोखिरहेका छन् । गठबन्धन भए धरान वा इटहरी अरु पार्टीलाई बुझाउनु पर्ने डर काँग्रेसमा छ । जसले गर्दा पनि काँग्रेसले सुनसरीमा गठबन्धनको खुलेर सर्मथन गर्न सकेको छैन ।
नव गठित कार्यदलाई पाँच दलिय गठबन्धनको नीति निर्देशनलाई पूर्णरुपमा कार्यान्वयन गर्ने, जिल्लाका पालिकादेखि वडा सम्म नै भएसम्म गठबन्धन गरि साझा उमेदवार उठाउने, गठबन्धन गर्दा कुनै समस्या आए त्यसलाई समाधान गर्ने, जिल्लादेखि पालिका हुँदै वडासम्म संयुक्त संयन्त्र निर्माण गर्ने लगायतका काम गर्ने उल्लेख गरिएको छ । यसलाई आधार मान्ने हो भने अब गठबन्धनबाट कुन पालीकामा को उमेदवार बन्ने हो भन्ने टुङ्गो यहि कार्यदलले लगाउन आसय बुझिएको छ । अघिल्लो निर्वाचनमा नगन्य मत पाएका पार्टी र भरखरै मात्रै निर्वाचन आयोगमा दर्ता भएर अस्तित्वमा आएको नेकपा ९एकीकृत समाजवादी०लाई फाइदा पुग्ने प्रष्ट छ ।
पार्टीको मतभारकै आधारमा भागबण्डा मिलाउँदा पनि सुनसरीका काँग्रेसले आधा पालिकाका मात्रै उमेदवार उठाउन पाउने निश्चित छ । यस्तोमा उसले केहि महत्वपूर्ण र जित्ने आधार भएका पालिका पनि अन्य पार्टीलाई नै जिम्मा लगाउने अवस्था सिर्जना भएको छ । एकातर्फ आफ्नो पार्टीको उमेदवार उठाउन नपाएका काँग्रेसले ती नेता कार्यकर्तालाई व्यवस्थापनमा पनि चुनौति देखिने प्रष्ट छ । कतिपय नेताहरु भने सुनसरी गठबन्धन हुनै नहुने पक्षमा उभिएका छन् । भए पनि काँग्रेसको जित्ने आधार कम भएका ठाउँमा मात्रै गठबन्धन गर्नुपर्ने उनिहरुको धारणा छ ।
पाँच दलिय गठबन्धनको कार्यदल निर्माणमा काँग्रेसका नेता, कार्यकर्ताले अपत्ति जनाए पनि अन्य सत्ता घटक पार्टीका नेताहरु भने मौन छन् । सुनसरीमा निकटतम प्रतिद्धन्दीसम्म हुन नसकेका दलले गठबन्धनमा जाँदा कतिपय पालिकामा जित दर्ता हुने र आफ्नो पार्टीको कमाण्डमा पालिका चल्नै भन्दै खुसि देखिएका छन् । सोहि कारण पनि खुलेर काँग्रेस बाहेकका अन्य पार्टीका नेता कार्यकर्ताले आजको निणर्यको खण्डन गरेका छैनन् ।