धनकुटा । महालक्ष्मी नगरपालिका–२ लाफ्टाङमा पहिरोले चार घरमा क्षति पुगेको छ भने दुई जना घाइते भएका छन् ।
पहिरो जाँदा स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर पुरेको थियो । त्यससँगै रहेका अन्य दुई घर समेत बिहान ११ बजेदेखि चर्किएर मानिस बस्न नहुने अवस्थामा पुगेको बताइएको छ ।
स्थानीय चित्रबहादुर बुढाथोकी र गोपाल बुढाथोकीको घर चर्किएको हो ।
विस्थापित चार परिवारलाई घटनास्थलबाट केही परका घरमा राखिने तयारी गरिएको बताइएको छ । पहिरोबाट विस्थापित चार परिवारका लागि आवश्यक त्रिपाल, खाद्यन्न, लत्ताकपडा नगरपालिकाबाट वितरण गरिएको छ ।
तिलक र कोषमायाको घर भने पहिरोसँगै करिब तीन सय मीटर तल झरेको महालक्ष्मी–२ का वडाध्यक्ष पदम रखालले जानकारी दिए ।
घटनामा ८४ वर्षीय तिलक र उनकी छोरी मित्रमाया कटुवाल घाइते भएका छन् । दुवै जनाको दुवै हात भाँच्चिएको छ भने शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।