भ्यालेन्टाइन विक प्रारम्भ : आज पहिलो दिन रोज डे

न्युजलय २४ माघ २०७८, सोमबार ०२:३८ मा प्रकाशित

काठमाडौं । यस वर्षको भ्यालेन्टान विक आज सोमबारदेखि प्रारम्भ हुँदैछ । भ्यालेन्टाइन विकको पहिलो दिनलाई रोज डेको नामले मनाइन्छ ।


भ्यालेन्टाइन विक आज ७ फेब्रुअरीदेखि प्रारम्भ भएर १४ फेब्रुअरी भ्यालेन्टाइन्स डेसम्म चल्ने छ । भ्यालेन्टाइन डेको पहिलो दिन मायालु जोडीहरुले एक-अर्कालाई गुलावको फूल दिएर भ्यालेन्टाइन्स डेको शुभकामना दिन्छन् र आफ्नो प्रेमलाई व्यक्त गर्छन् । यसका साथै एक-अर्कासंग विशेष डेट प्लान समेत गर्छन् । आफ्नो नजिकको व्यक्तिलाई धेरै प्रकारका गुलावका फूल उपहारमा दिन्छन् र आफूलाई उक्त व्यक्ति कतिसम्म विशेष छ भन्ने कुरा व्यक्त गर्छन् ।

 

रातो रंगको गुलास रोमान्सको प्रतीक हो भने पहेंलो रंगको गुलाव नजिकका साथीहरुलाई दिने गरिन्छ । यदि तपाईंहरु केवल साथीभन्दा धेरै माथिको सम्बन्धमा हुनुहुन्छ तर प्रेमीको सम्बन्धबाट कमै हुनुहुन्छ भने तपाईंले आफ्नो विशेष साथीलाई गुलावी रंगको गुलाव प्रदान गर्न सक्नु हुन्छ ।


यदि तपाईं कसैसंग रिसाउनु भएको छ भने रोज डेको दिन आफ्ना पुराना कुराहरुलाई बिर्सिएर दोस्रो पटक पुनः साथी बन्नका लागि हात अगाडि बढाउन सक्नु हुनेछ । यसका लागि तपाईंले त्यो व्यक्तिलाई सेतो रंगको गुलावको फूलको गुच्छा नै प्रदान गर्न सक्नु हुनेछ ।


केवल रातो गुलावमात्र होइन, भ्यालेन्टाइन्स डेको मौकामा अन्य रंगका गुलावहरु पनि उपहारको रुपमा प्रदान गर्न सकिन्छ ।