इटहरी । नेपालको सहकारी क्षेत्रको एकमात्र बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडेको सञ्चालकमा इटहरीकी अमृता सुब्बा निर्विरोध निर्वाचित भएकी छिन् । उनी तीन खुला महिला सदस्यतर्फ निर्विरोध निर्वाचित भएकी हुन् । उनीसँगै तारा गुरुङ र पार्वती थापासमेत निर्विरोध भएका छन् ।
१५ सदस्यीय संचालक समितितर्फ अध्यक्ष केवी उप्रेतीसहित जम्मा १० जना निर्विरोध भएका छन् भने बाँकी पाँच जनाको लागि निर्वाचन हुँदैछ ।
१५ संचालक समितिमा खुला प्रदेश ५ जना, प्रदेशबाट महिला २ जना, सदस्य खुल्ला ४, खुला महिला ३ जना निर्वाचित हुने व्यवस्था रहेको छ । जसअन्तर्गत खुल्ला प्रदेशतर्फ प्रदेश १ बाट झापाका महेन्द्र कुमार गिरी, मधेस प्रदेशबाट विश्वनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाई, गण्डकी प्रदेशबाट रामबादुर जिसी निर्विरोध भएका छन् ।
कर्णाली प्रदेशमा दुई जनाको उम्मेवारी परेकाले निर्वाचन हुने भएको छ ।
प्रदेशतर्फ दुई महिला निर्विरोध भएका छन् । जसमा लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदुरपश्चिम प्रदेशबाट शिवा थापा निर्विरोध भएका छन् । संचालक समितिको चार खुला पदका लागि १६ जनाको उम्मेदवारी परेको छ भने लेखा सुपरिवेक्षण समिति सदस्य खुला १ पद र १ महिला पदका लागि क्रमशः चार र दुई जनाको उम्मेदवारी परेको छ । ती पदमा निर्वाचन हुनेछ ।