राष्ट्रिय परीक्षा बोर्डले भोलिसम्म एसईईको परीक्षा तालिका सार्वजनिक गर्ने

न्युजलय २६ माघ २०७८, बुधबार ०२:५९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा तालिका आज या भोलिसम्ममा प्रकाशित गर्ने भएको छ ।  


परीक्षा नियन्त्रक अर्जुन रायमाझीअनुसार आउँदो बैशाख २० गते भित्रै परीक्षा सक्ने गरी तयारी थालिएको छ । बैशाख ३० गते पालिकाको चुनावको मिति तोकिएकाले २० गते भित्रै परीक्षा सकाउनु पर्ने दबाब राष्ट्रिय परीक्षा बोर्डलाई परेको छ । 


चुनावमा शिक्षक र कर्मचारी पनि खटिने भएकाले चुनाव अघि नै परीक्षा सक्ने गरी तयारी थालिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए । यो वर्ष झण्डै ५ लाख ८ हजार विद्यार्थीले परीक्षा दिने अनुमान छ । 


कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै बन्द भएका विद्यालय आउँदो फागुन १ गतेदेखि खुल्दै छन् । विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट विद्यार्थीलाई पढाउँदै आए पनि त्यो प्रभावकारी हुन सकेको छैन । त्यसैले विद्यार्थीको पढाइ पूरा गर्न चैतसम्म कक्षा सञ्चालन गर्ने र बैशाखमा परीक्षा गर्ने तयारी गरिएको हो । बोर्डले बैशाखमा एसईई परीक्षा गर्ने र जेठमा कक्षा १२ को परीक्षा गर्ने तयारी गरेको छ ।