मोरङ र सुनसरीबाट लागुऔषधसहित तीन जना पक्राउ

न्युजलय १७ बैशाख २०७९, शनिवार ०१:०२ मा प्रकाशित

इटहरी । मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट निषेधित लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 


बिहीबार दिउँसो विराटनगर–१५ मा चेक जाँच गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगवनीबाट नेपाल आउँदै गरेका मोरङ बेलबारी नगरपालिका–३ का ३८ वर्षीय सतिष कुमार सुवेदीलाई लुपिजेसिक–७ एम्पुल, एभिल ७ एम्पुल, डाईजेल्याब ७ एम्पुल र फेनरगन ७ एम्पुलसहित पक्राउ गरेको हो ।


यसैगरी, सुनसरीको वराहक्षेत्र–४ मा रहेको अस्थायी प्रहरी चौकी नडाहाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा को ३६प ७६०३ नम्बरको मोटरसाइकलमा सवार रहेका भारत विहारका ४० वर्षीय जमिर मन्सुरी र देवानगंज–४ सुनसरीका ४० वर्षीय भुवनेश्वर मेहताको साथबाट लुपिजेसिक ४० एम्पुल, डाइजेपाम ४० एम्पुल, फेनारगन ४० एम्पुल, एभिल ४० एम्पुल, ट्रामाडोल ११०० क्याप्सुल बरामद गरेको हो ।


निषेधित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।