काठमाडौँ । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार कसुरमा दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले आदेश सुनाउँदै लामिछानेलाई जबर्जस्ती करणी कसुरमा दोषी ठहर्याएको हो ।
लामिछानेले नाजुक आर्थिक अवस्थाको फाइदा उठाउँदै गौशाला २६ (छ) माथि बलात्कार गरेको काठमाडौं जिल्ला अदालतले ठहर गरेको छ ।
अदालतले पीडित भनिएकी गौशला २६ लाई भने नाबालिक नरहेको ठहर गरेको छ। विभिन्न कार्यालयमा देखिएको तथ्यांकबाट पीडित नाबालिग नरहेको अदालतले ठहर गरेको हो ।
काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको आदेशमा उल्लेख छ।
उनलाई हुने सजायका सम्बन्धमा सजाय निर्धारण गर्न सजायपूर्वको प्रतिवेदन पेश गर्न इजलासले आदेश दिएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को २१९ (ङ) अनुसार सजाय गर्ने फैसला न्यायाधीशले गरेका छन् । यो व्यवस्थामा बलात्कार अभियुक्तलाई ७ देखि १० वर्ष जेल सजाय हुने उल्लेख छ ।
गौशाला २६ को जाहेरीले नेपाल प्रहरीले गत २०७९ कार्तिक १४ मा लामिछाने विरुद्ध नावालिकालाई जर्बजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।