इटहरी । इटहरीका पूर्व प्रधानपञ्च राम प्रसाद श्रेष्ठको निधनमा इटहरी उपमहानगरपालिकाले एक दिन शोक विदा दिने भएको छ । सोमबार उपमहानगरपालिका कार्यालय र वडा कार्यालयहरु बन्द गरिने उपमहानगरपालिकाले जनाएको छ । आइतबार राति ९० वर्षको उमेरमा काठमाडौस्थित ग्राण्डी अस्पतलमा उपचारको क्रममा निधन भएको थियो ।
मंगलबार दिउँसो १ बजे इटहरीस्थित बुढीगंगा जमुना मुक्ति घाटमा शवको अन्तीम संस्कार गरिने उनका छोरा भरत श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठ इटहरीका दोस्रो प्रधानपञ्च निर्वाचित भएका थिए । उनी २०२१ देखि २०२२ सालसम्म इटहरी गाउँ पञ्चायतको प्रधानपञ्च थिए । उनले आफ्नो कार्यकालमा इटहरीका विभिन्न सडकहरु निर्माण गराएका थिए । साथै महेश्वर सुब्बाले वस्ती बसाएको बौका छापका जग्गाहरुको मालपोत बुझेर वैद्यता प्रदान गरेका थिए ।
उनले इटहरीको व्यवस्थित वस्ती विकासका लागि समेत अवधारणा बनाएर लागू गर्ने कोसिस गरेका थिए । उनीपछि अब इटहरीमा राम कुमार सुब्बा मात्र जिवित प्रधानपञ्च छन् ।