इटहरी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत फागुन १८ गते सर्वजनीक गरेको कार्यसम्पादन मूल्याङ्कनमा प्रदेश १ का ६ पालिकाले मात्रै ७० भन्दा बढी अंक पाएका छन् ।
प्रदेश १ मा १३७ वटा स्थानीय तह (पालिकाहरु) रहेका छन् । जुन सूचीमा प्रदेश १ का तराईका जिल्लाहरु झापा, मोरङ र सुनसरीबाट एउटा पनि पालिका परेका छैनन् । प्रदेश १ मा सबैभन्दा बढी अंक खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पाएको छ । आयोगको तथ्याङक अनुसर यो नगरपालिकाले ७३ दशमलव ७१ अंक ल्याएको छ ।
जुन प्रदेश १ कै सबैभन्दा बढी अंक हो । त्यसपछिको सबैभन्दा बढीअंक पाँचथरको याङ्बरक गाउँपालिकाले पाएको छ । आयोगको तथ्याङ्क अनुसार याङ्बरकाले ७३ दशमलव ७१ अंक पाएको छ ।
यो सूचीमा उदयपुरका दुई नगरपालिका पनि पर्न सफल भएका छन् । आयोगको तथ्याङ्क अनुसार उदयपुरका बेलका र चौदण्डीगढी नगरपालिकाले क्रमश। ७१ दशमलव ०७ र ७१ दशमलव ९५ अंक पाएका छन् ।
भोजपुरको पौवा दुङ्मा गाउँपालिका र ओखङढुङ्गाको सिद्धिचरण नगरपालिकाले पनि ७० भन्दा बढी अंक ल्याएको आयोगको प्रतिवेदनले देखाएको छ । आयोगका अनुसार पौवा दुङ्माले ७१ दशमलव २१ र सिद्धिचरणले ७१ दशमलव ४६ अंक पाएका छन् । देशभरमा ४२ स्थानीय तहले ७० भन्दा बढी अंक प्राप्त गरेका छन् ।
२६ पालिकाको कार्यसम्पादन ५० भन्दा कम
प्रदेश १ का २६ वटा स्थानीय तहले ५० भन्दा कम अंक प्राप्त गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ । प्रदेशमा सबैभन्दा कम अंक मोरङको बेलबारी नगरपालिकाले पाएको छ । आयोगको प्रतिवेदन अनुसार बेलबारी नगरपालिकाले ३७ दशमलव १३ अंक मात्रै प्राप्त गरेको हो ।
त्यसपछि सबैभन्दा कम खोटाङको केपीलासगढी गाउँपालिकाले पाएको छ । आयोगका अनुसार केपीलासगढीले ३७ दशमलव ५७ अंक पाएको हो । प्रदेशमा पाँचथर जिल्लाका कुनै पालिका ५० भन्दा कम अंक ल्याउनेको सूचिमा परेका छैनन् ।
आयोगका अनुसार ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ४७ दशमलव ७३, संखुवासभाका धर्मदेवी नगरपालिकाले ४४ दशमलव ४९, चैनपुर नगरपालिकाले ४८ दशमलव ४४, मादी नगरपालिकाले ४९ दशमलव ०३, पाँचखपन नगरपालिकाले ४८ दशमलव ६९ र मकालु गाउँपालिकाले ४३ दशमलव ५९, सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले ४६ दशमलव १४ र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले ४९ दशमलव ०४ अंक पाएका छन् ।
यस्तै खोटाङका केपीलासगढी गाउँपालिकाले ३७ दशमलव ५७ र ऐसेलुखर्क गाउँपालिकाले ४९ दशमलव ७०, भोजपुरको साल्पासिलिछो गाउँपालिकाले ४९ दशमलव ५१, धनकुटाको चौविसे गाउँपालिकाले ४७ दशमलव ८३, तेह्रथुमको आठराई गाउँपालिकाले ४३ दशमलव ७१ र लालिगुँरास नगरपालिकाले ४० दशमलव ६४, इलामको फाकफोकथुम गाउँपालिकाले ४४ दशमलव ४२ र रोङ गाउँपालिकाले ४० दशमलव ६४ अंक प्राप्त गरेका छन् ।
यता झापको भद्रपुर नगरपालिकाले ४८ दशमलव ४२, विर्तामोड नगरपालिकाले ४८ दशमलव २६ र कचनकवल गाउँपालिकाले ४३ दशमलव ७३, मोरङको सुन्दरहरैँचा नगरापलिकाले ४५ दशमलव ३२, बेलबारी नगरपालिकाले ३७ दशमलव ३१, रंगेली नगरपालिकाले ४३ दशमलव १३ र जहदा गाउँपालिकाले ४८ दशमलव २५, सुनसरीको बर्जु गाउँपालिकाले ४६ दशमलव ११ र उदयपुरको लिम्चुङथुम गाउँपालिकाले ४६ दशमलव ०६ अंक पाएका छन् ।