काठमाडौ । नयाँ आएको बजेटले नेपालमा औद्योगिकरणलाई टेवा पुर्याउने उद्योग वाणिज्य महासंघअन्तर्गतको द्वय राष्ट्रिय तथा एनआरएन समितिका सभापती देशबन्धु बस्नेत (अजित) ले बताएका छन् ।
टाट पल्टिएर वर्षौंदेखि सरकारको टाउको दुःखाइ बनेका उद्योग, व्यवसाय वा प्रतिष्ठानको नाममा रहेको जग्गा बिक्री गर्न पाइने व्यवस्थाले ती उद्योगलाई पुनर्जीवन दिने दावी गरे । उद्योगले उक्त जग्गा धितो राखी ऋण लिन, टाट पल्टिए सरकारी राजस्व तथा बैंकको कर्जा भुक्तानी गर्न पाउने व्यवस्थाले औद्योगिकरणलाई अझ चलायमान बनाउने बताए ।
यस्तै सरकारले आगामी वर्षदेखि उद्योगीलाई उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिइने व्यवस्था लागू गर्न लागेकोले यसले उद्योग स्थापनाको लागत घटाउने बताए । यस्तै सिमेन्ट, स्टील, जुत्तासहित स्वदेशी वस्तु निर्यात गर्ने उद्योगलाई सरकारले ८ प्रतिशत नगद अनुदान दिने घोषणाले निर्यातमा उल्लेखनिय सुधार हुने विश्वास व्यक्त गरे ।
‘उद्योगलाई जग्गाको हदबन्दी नलाग्ने प्रावधानले पनि बजेट सकारात्मक छ भन्ने देखिन्छ,’ उनले भने, ‘यस्तै गैरआवासीय नेपालीलाई सेयर बजारमा प्रवेश गराउने विषयलाई बजेटले सम्बोधन गरेको छ । यसले पनि नेपालको पुँजी बजारको विकास र दायरा विस्तार गर्न सहयोग पुग्नेछ ।’
बस्नेत जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूतसमेत हुन् ।