काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने बताउँदै चेतावनी दिएका छन् । सरकारले आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि गर्ने कुरा सह्य नहुने चन्दको भनाइ छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा चन्दले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको बारेमा छलफल सुरु भएको बताए ।
चन्दलाई अदालतबाट पक्राउ पुर्जी जारी गरिएको छ । उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पुर्जीबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको पनि जानकारी दिए ।
चन्दले समाजवादी मोर्चाको बैठक आज साँझ ६ बजे बालुवाटारमा नै बस्ने जानकारी दिएका हुन् ।
काठमाडौं जिल्ला अदालतले चन्द, नेकपाका पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा र राजु कार्कीविरुद्ध मंसिर दोस्रो साता ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । उक्त पक्राउ पुर्जीलाई लिएर चन्द नेतृत्वको नेकपाले आन्दोलन गर्ने चेतावनी दिएको थियो ।