टिपरको ठक्करबाट आँगनमा आगो तापिरहेका दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

न्युजलय १८ माघ २०७८, मङ्गलबार ०४:२८ मा प्रकाशित

बर्दिया । बर्दियाको बढैयाताल–३ मा घरको आँगनमा बसेर आगो तापिरहेका दुई जनाको टिपरको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ४० वर्षीय सोमबहादुर विक र ४७ वर्षीय रामु चौधरी रहेको प्रहरीले जनाएको छ ।

टिपरको ठक्करबाट आगो तापिरहेका दुई जनाको मृत्यु हुनाका साथै सोही ठाउँका ३५ वर्षीया प्रमिला चौधरी र ४० वर्षीया बेलमति थारु गम्भीर घाइते भएका छन् । 

दुवै जनाको अवस्था चिन्ताजनक भएकोले उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएको छ । चालकले अत्यधिक मदिरा सेवन गरी टिपर चलाएकाले अनियत्रित भई सडकदेखि उछिट्टिएर आँगनमा पुगेको प्रहरीले जनाएको छ ।

सुर्खेतको वीरेन्द्रनगरका चालक दुर्गा विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।