इलाम २ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

न्युजलय १८ बैशाख २०८१, मङ्गलबार ०५:२३ मा प्रकाशित

इलाम । इलाम क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछाडि पार्दै सुहाङ विजयी भएका हुन् ।

सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भए । कांग्रेस उम्मेदवार खड्काले २१ हजार ९४२ मत पाए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ प्राप्त गरे । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका मिलन लिम्बुले ५ हजार ५० मत प्राप्त गरे ।

यसअघि भएको निर्वाचनमा सो क्षेत्रबाट सुवास नेम्वाङ निर्वाचित भएका थिए । तर, उनको गत वर्ष भदौमा निधन भएपछि रिक्त भएको स्थानमा वैशाख १५ गते उपनिर्वाचन भएको थियो । सुहाङ सुवास नेम्वाङका छोरा  हुन् ।