एमाले इटहरीद्वारा निर्वाचन लक्षित प्रशिक्षण, २५ गतेदेखि वडा स्तरमा पनि हुने

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०१:२३ मा प्रकाशित

इटहरी । नेकपा एमाले इटहरीले स्थानीय चुनाव लक्षित गतिविधिलाई तिब्रताका साथ अघि बढाएको छ । सोहि क्रममा आज नेकपा एमाले इटहरी उपमहानगर कमिटिले नगरस्तरीय स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 


कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा स्थानीय विभाग प्रमुख देबेन्द्र दाहाल, केन्द्रिय सदस्य तथा स्थानीय विकास विभागका सचिव हर्कराज राई, केन्द्रीय सदस्य तथा स्कुल विभाग सदस्य युवराज बास्कोट र एमाले सुनसरी अध्यक्ष रेवतिरमण भण्डारीले प्रशिक्षण दिएका थिए । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको नगर कमिटि अध्यक्ष यमकुमार सुब्बाले जानकारी दिए । 


प्रशिक्षण कार्यक्रममा नगरका पाँच सय भन्दा बढी अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको उनले जनाए । प्रशिक्षर्थी नेताहरुले अब स्थानीय तहको निर्वाचनमा एमाले कसरी एक ढिक्का भएर अघि बढ्ने, त्यसका लागि खेल्नु पर्ने भूमिकाका विषयमा अवगत गराउनुभएको अध्यक्ष सुब्बाले जानकारी दिए । यसका साथै अब वडा स्तरमा पनि यसैगरि प्रशिक्षण कार्यक्रम गर्ने तय भएको उनले जानकारी दिए । जसका लागि फागुन २५ देखि २७ सम्म वडामा विकेन्द्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिने र एमालेको लक्ष्य र योजनाका विषयमा जानकारी गराइने अध्यक्ष सुब्बाले बताए । 


प्रति दिन ४ वटा वडमा प्रशिक्षण कार्यक्रम गरीने उनले जानकारी दिए । नगर, जिल्ला, प्रदेश र केन्द्रमा सुनसरीबाट प्रतिनिधित्व गर्ने १६ जना अग्रज नेताहरुले वडास्तरमा प्रशिक्षण दिने उनले बताए ।