माओवादी, समाजवादीसहित कोशी प्रदेश सरकार विस्तार, एमाले बाहिरिने

न्युजलय १८ कार्तिक २०८०, शनिवार ०१:३७ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले माओवादी र एकीकृत समाजवादीबाट मन्त्री चयन गरेका छन् । एमालेले यसमा असहमती जनाएको छ र औपचारिक निर्णय भोलि लिने बताएको छ ।


शुक्रबार कार्कीले केन्द्रीय सत्ता गठबन्धनका मुख्य सहयात्री दल माओवादी र नेकपा एसबाट एक–एक जना मन्त्री नियुक्त गरेका छन् । उनले नियुक्त गरेका माओवादीका मन्त्री गणेश उप्रेती मोरङको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुन् । 


यस्तै नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा मन्त्री नियुक्त भएका कमल प्रसाद जबेगु पुराना बामपन्थी नेता हुन् । उनी पाँचथर १ (१)बाट प्रदेशसभामा निर्वाचित भएका थिए । यसअघि एमाले र काँग्रेसबाट एक एक जना मन्त्री भइसकेको सरकारमा दुई जना थपिएपछि मुख्यमन्त्रीसहित पाँच जनाको मन्त्रीमण्डल बनेको छ । यसअघि नियुक्त भएका काँग्रेसका शम्शेर राई इलाम १ (२) बाट र एमालेका रामबहादुर राना इलाम २ (२) बाट निर्वाचन हुन् ।


एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफूहरु सरकारबाट बाहिरिने जनाएका छन् । 


नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर मुख्यमन्त्री भएका कार्कीले सरकारमा गठबन्धन सामेल गर्ने कि एमाले मात्र भन्ने निर्णय गर्न नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् ।