कांग्रेसले सबै स्थानीय तहमा इन्टरनेटको पहुँच पुर्‍याउने

न्युजलय १२ कार्तिक २०७९, शनिवार ११:३८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले सूचना प्रविधिलाई प्राथमिकता दिदैं चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । 

 

कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्दै सबै स्थानीय तहलाई उच्च गतिको इन्टरनेट नेटवर्कको पहुँचमा पुर्‍याउने प्रतिबद्धता जनाएको हो । 


टेलिमेडिसिन केन्द्रको स्थापना र सातै प्रदेशमा सूचना ज्ञान पार्क स्थापना गर्ने योजना कांग्रेसको छ । निर्यातमुखी डिजिटलाइजेशनलगायत सूचना संचार क्षेत्रमा २ लाख युवालाई संलग्न गराइने योजना घोषणापत्रमा उल्लेख छ । 


विज्ञान, प्रविधि, संचार र डिजिटलाइजेशनलाई प्राथमिकतामा राखेको कांग्रेसले नेपाली नागरिकताको प्रमाणपत्र, जग्गाको नामसारी, सवारी चालक अनुमतिपत्र बाहेकका अन्य सम्पूर्ण सेवालाई सूचना प्रविधिको माध्यममार्फत् सेवाग्राहीलाई घरमै उपलब्ध हुने प्रणालीको विकास गरिने योजना अघि सारेको छ । 

 

सातै प्रदेशका राजधानी शहरमा सूचना ज्ञान पार्क स्थापना गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । यस्ता शहरहरूमा स्टार्ट अप विजनेस सेन्टरहरू स्थापना गरी डिजिटल सीप मार्फत् उद्यमशीलताको विकास गरिने भनिएको छ । देशभरका सम्पूर्ण नेपालीका लागि २४ सै घण्टा टेलिमेडिसिन सेवा उपलब्ध गराउनको लागि टेलिमेडिसिन केन्द्रको स्थापना गरिने र प्रत्येक व्यक्तिलाई बायोमेट्रिक परिचयपत्र नम्बरको आधारमा सबै स्वास्थ्य संस्थाले हेर्न सक्ने बनाइने कांग्रेसको योजना छ ।

 

विज्ञान, परम्परागत प्रविधि र डिजिटलाइजेसन सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने सरकारी संस्थाहरूले निजी क्षेत्रसँग सहकार्य गर्न नीतिगतरूपमा प्रोत्साहान गरिने घोषणापत्रमा उल्लेख छ ।