इटहरी । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ ।
वैशाख २७ गतेमात्रै मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।
सोही दिन एमालेबाट रामबहादुर राना मगर र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिएको बताइएको छ ।
एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित पाँच मन्त्रालय लिने र माओवादीले भौतिक पूर्वाधार मन्त्रालयसहित तीन मन्त्रालय पाउनेगरी भागबण्डा मिलेको स्रोतले जनाएको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीको मन्त्रीमण्डलमा समावेश भएकाहरूलाई नै पुनः मन्त्रीमण्डलमा पठाउने माओवादीको तयारी रहेको जनाइएको छ ।