काठमाडौं । देशभर हालसम्म झन्डै २० प्रतिशत रोपाइँ भएको छ । गएको असार १२ गतेसम्म १७ दशमलव ५ प्रतिशत रोपाइँ भएकोमा त्यसपछिका तीन दिन असार १५ सम्म थप साढे दुई प्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ ।
विगतमा असार १५ गतेसम्म ३० देखि ३५ प्रतिशत धान रोपाइँ हुन्थ्यो तर यसपटक २० प्रतिशत मात्रै रोपाइँ भएको प्रारम्भिक तथ्याङ्क छ । अहिलेसम्म सबैभन्दा धेरै रोपाइँ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा भएको छ ।
सुदूरपश्चिममा झन्डै ४७ प्रतिशत र कर्णालीमा ४० प्रतिशत रोपाइँ भएको कृषि विभाग अन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिए । मनसुन भित्रिएपछि पूर्वमा रोपाइँ सुरु भएको थियो । त्यहाँ अहिलेसम्म झन्डै १८ प्रतिशत, वाग्मतीमा ३१ प्रतिशत, गण्डकीमा १४ प्रतिशत र लुम्बिनीमा १० प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ ।
प्रदेश २ मा रोपाइँ सुरु हुन सकेको छैन । सबैभन्दा धेरै मध्य, पूर्व र तराई क्षेत्रमा धान खेती हुने गरेको छ । तर मल र सिँचाइका कारण यसवर्ष रोपाइँ प्रभावित भएको छ ।
भारतबाट मल आउने क्रममा रहेको र देशभर मनसुन पनि सक्रिय भएकाले अब धमाधम रोपाइँ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । विगतको तुलनामा यसपालि मध्यअसारसम्म धान रोपाइँ अलि कम देखिएको तर साउनको पहिलो हप्तासम्म ९० प्रतिशतसम्म रोपाइँ भैसक्ने उनको भनाइ छ ।
धानबालीका लागि मात्रै नेपालमा झन्डै १ लाख ५० हजार टन मल आवश्यक पर्छ । धानबाली खाद्यान्नको रुपमा चामल मात्रै नभएर समग्र अर्थतन्त्रसँग पनि जोडिन्छ । आर्थिक वर्ष २०७८/७९ मा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ५१ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा ८ दशमलव ७४ प्रतिशतले कमी हो ।
चालु आर्थिक वर्षको ११ महिनामा धान/चामल/कनिका र बीउ गरी ४५ अर्ब रुपैयाँभन्दा धेरैको आयात भएको छ । धानको उत्पादन तथा उत्पादकत्व बढाउने र व्यवसायीकरण गर्ने उद्देश्यले २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको थियो ।