उखुबारी शव फेला प्रकरणः जग्गा कारोबारको नाफा हत्याउन तीन साझेदारको हत्या

न्युजलय २१ माघ २०७८, शुक्रबार ०७:०६ मा प्रकाशित

विराटनगर । ललितपुरको गोदावरी नगरपालिका र मोरङको धनपालथान गाउँपालिकामा व्यापारिक कारोबारका तीन जना साझेदारको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

सिराहाको सिराहा नगरपालिका–२१ घर भइ काठमाडौंको बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका–४ सिस्बनीको २९ वर्षीय दिनानाथ साह र धनपालथान गाउँपालिका–७ का ६२ वर्षीय नासिर आलमलाई पक्राउ गरी जिल्ला प्रहरी मोरङले शुक्रबार(आज) सार्वजनिक गरेको हो । उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा दुई जना र ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा एक जनालाई हत्या गरी खाल्डो खनेर गाडेको आरोपमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 

सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी र सुनसरीको धरान –३ घर भइ भक्तपुर बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा प्रहरीले शव बरामद गरेका थिए । चौधरीको शव माघ १२ गते र श्रेष्ठको शव माघ १३ गते बरामद भएको थियो ।

यस्तै, तेह्रथुमको संक्रान्ति–२ घर भइ काठमाडौं महानगर–८ गोठाटार बस्दै आएका ६३ वर्षीय मोहन लिम्बुको शव प्रहरीले बिहीबार ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलको गोदाम परिसरमा खाल्डो खनेर गाडेको अवस्थामा बरामद गरेको हो ।

लिम्बुलाई मंसिर २८ मा, श्रेष्ठलाई पुस ५ मा र चौधरीलाई पुस ७ गते हत्या गरेर गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

मृतक श्रेष्ठ, चौधरी, लिम्बु र पक्राउ परेका मण्डल घर जग्गा कारोबारका साझेदार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

काठमाडौंमा जग्गा कारोबारमा भएको मुनाफा रकम एक्लै हत्याउन मण्डलले तीनै जनाको हत्या गराएको अनुसन्धानबाट खुलेको रउनीहरुको हत्यामा अन्य व्यक्तिको पनि संलग्नता रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनपालथान गाउँपालिका–७ स्थित छुट्टाछुट्टै उखुबारीमा खाल्डो खनेर पुरिएको देखेपछि उखु काट्न गएका मजदुरहरुले शंका लागेर इलाका प्रहरी रंगेलीलाई माघ १२ गते जानकारी गराएका थिए । त्यसपछि प्रहरीले खाल्डोको उत्खनन गरेपछि दुवै जनाको शव बरामद गरेको थियो ।